• १३ साउन २०८१, आइतबार

दुःखको मेला (कथा)

blog

हामी उसलाई ‘गुरु’ भन्ने गर्दछौँ; किन भन्दछौँ, यसको कुनै अर्थताŒिवक परिभाषा हामीसँग छैन । एउटा कुरा भने निश्चित के छ भने ऊ कुनै पनि कुरा परिहासपूर्ण तरिकाले यस्तरी भन्ने गर्दछ, मानौँ उसलाई कुनै पीरतापले ग्रसित गरेको छैन वा ऊ कुनै पनि कुराले पीडित भएको छैन । उसले भनेको पनि छ, ‘हेर मित्रहरू ! हर्ष भनेको क्षणिक पाहुना हो भने पीडा भनेको स्थायी परिवार । यसैले जीवन मृत्युको मुखमा पुगेपछि पनि यही हुनुपर्छ– द सो मस्ट गो अन ।’ यो उसको चरित्र हो वा स्वभाव, यो पनि हामीलाई त्यति ज्ञात भएको छैन तर उसको स्वभावको चरित्र वा चरित्रको स्वभावका झाँकी भने हामीलाई पर्याप्त मात्रामा सम्झना भइरहने खालका छन् । तिनै झाँकीलाई बोकेर हामी यति बेला गुरुको घरमा पुगेका छौँ । उसको घरबाट हामीमध्ये कोही एकलाई गुरुको घर आउनू भन्ने खबर आएको हुनाले हामी सबै जना भेला भएर गुरुको घरमा पुगेका हौँ । गुरुलाई भेट्नु वा उसको घरभित्र छिर्नुअघि गुरुसँगको हाम्रो मित्रता र भेटका केही झाँकी, केही झलक दृश्य बनेर हाम्रो सम्झनामा टाँसिन आइपुगेका छन्, यसरी...।

०००

झाँकी–१

कुनै एक दिनको कुरा, हामी गुरुलाई भेट्न उसको घरमा जाँदा उसको ढोकाबाहिर एउटा फोटोकपी पेपरमा केही लेखेर टाँगिएको देख्यौँ । के थियो त्यो, यसो हे¥यौँं । त्यसमा लेखिएको थियो, ‘सन्तान दुई मात्र राम्रो ।’ हामी एकछिन घोरियौँ, यस भनाइको के अर्थ ? पछि निष्कर्ष निकाल्यौँ, पञ्चायतकालीन ‘परिवार नियोजन’ उक्ति उसले पनि चरितार्थ गरेको थियो । दुई सन्तान पाउनु मात्र राम्रो भन्ने उक्तिलाई उसले मानेको थियो भन्ने लाग्यो हामीलाई । सँघारको डिलनिरै दस–बाह्र वर्षका दुई केटी पढिरहेका थिए । हामीलाई लाग्यो, यिनीहरू गुरुका छोरी, जसले ‘दुई सन्तान राम्रो’ उक्तिलाई सार्थक गरिरहेका थिए ।

हामी यही निष्कर्ष लिएर भित्र पुग्यौँ तर भित्र गएर के देख्यौँ भने भित्र त अरू सात–सात वर्षका दुई बच्चाहरू उपद्रो रूपमा उफ्रिरहेका थिए । हामीले मुखामुख ग¥यौँ । बाहिर दुई छोरी, भित्र दुई छोरा ! ती छोराहरू सानासाना भए पनि चलिरहेका थिए, उफ्रिरहेका थिए । हामी गुरुको सम्भावित भावभङ्गिमालाई अनुमान गर्न नसकी एक टक उभियौँ वा केही कुराको प्रतीक्षामा अडियौँ । यिनीहरू पनि पक्कै गुरुकै त छोरा थिए ।

त्यही बेला गुरु ‘ए केटाहरू, यस्तरी उपद्रो नगर न’ भन्दै निस्कियो । गुरुले हामीलाई देख्यो । हामी गुरुतिर हेरेर प्रश्नशील हुन पुग्यौँ । गुरु हाँस्यो । हाम्रो प्रश्न, ‘क्या हो गुरु; बाहिर बोर्डमा त सन्तान दुई मात्र राम्रो भनेर टाँसिएको देख्यौँ, हामीलाई लागेको थियो, दुई सन्तान छोरा वा छोरी हुनु राम्रो कुरो भन्ने लागेको त, तर भित्र त अरू दुई सन्तान पनि युद्धरत देखिए नि त !’

यसमा गुरुको जुन उत्तर हामीतिर प्रक्षेप भयो, त्यो सुनेर एकफेर हामी चकमन्न भयौँ, त्यसपछि हाम्रो हाँसोको फोराले दलिन हल्लायो । गुरुले पहिला हामीलाई बसाउन लगायो । अनि आफ्नो स्वभावअनुसारको क्रिया प्रदर्शित गरेर लामो कुनै कथा भन्न लागेजस्तो वा आफ्नो गुप्तकारी दुःखेसो सुनाउन लागेजस्तो गरी बोल्न थाल्यो ।

गुरुको उत्तर यस्तो थियो, ‘होइन, मैले ठीकै भनेँ, सन्तान दुई नै राम्रो, बाहिरका छोरी दुई राम्रा गुणका, तर भित्रका यी दुई सालेहरू भने अति बदमास, यही जानकारी दिएको नि ।’

यसमा हाम्रो कुनै प्रतिक्रिया वा सोसरहका कुनै प्रतिप्रश्न उत्पन्न भएन, यो निश्चित थियो तर जे कुरा उत्पन्न हुन पुग्यो, त्यो थियो हाम्रो हाँसो ।

हामी लामै हाँसो हाँस्यौँ । हाँसो रोकेपछि पनि हाम्रो प्रश्न रह्यो, ‘अनि गुरु, यी दुई छोरा, त्यो पनि जुम्ल्याहा, कसरी नि ?’

गुरुले भित्र आफ्नी गृहिणीलाई चिया बनाउन भनेपछि एकफेर लामो सास फेरेर खुइय ग¥यो, मानौँ यसबारे पनि लामो उपजीव्य आहान थियो । केही छिनको विश्रामपछि गुरुले आफ्नो मौलिक गुणले कथावाचन गर्न थाल्यो र हामी एकटक मन्त्रमुग्ध भएर सुन्न लाग्यौँ ।

गुरुले भन्न आरम्भ ग¥यो, ‘कुरा के भने दुई छोरी जन्मिएपछि म बस स्टप गर्न चाहन्थेँ... ।’

हामीमध्ये कोही एकले बीचमै बोलिदियो, ‘बस स्टप ? त्यो के भनेको नि फेरि ?’

यसमा पनि गुरुले मतापले भन्यो, ‘बस भनेको पुग्यो र स्टप भनेको रोकौँ अर्थात् अब आगामी सन्तानोत्पादन यात्रा नगरौँ भनेको नि ।’ 

यहाँ पनि हामीले बडो कठिनका साथ आफ्नो हाँसो रोक्यौँ र प्रश्न ग¥यौँ, ‘अनि त्यसपछि ?’

गुरुले आँखा चिम्लियो । ओठलाई खल्तीबाट रुमाल झिकेर पुछ्यो । रुमाल खल्तीमा राखेपछि बोल्न थाल्यो, ‘तर मेरो यो मान्यतालाई भत्काउने गरी मेरो घरमा पितृसत्ताको सुरुङभित्र रहेको मातृव्यवस्थाले के निर्धारण अनिवार्य घोषणा गरिदियो भने जसरी भए पनि छोरा जन्माउनैप¥यो । यसमा हरिवंशपुराण लगाइयोस् वा सन्तानेश्वर महादेव जगाइयोस्, जसरी भए पनि छोरा जन्माउनैप¥यो, नत्रभने हाम्रो पुर्खाको बिँडो थाम्ने महान् परम्परा क्षुब्ध र लुब्ध हुने भयो । यसै महान् अनुष्ठानलाई शिरोधार्य गरी सन्तानेश्वर महादेवलाई पुकारियो । अनि त के, सन्तानेश्वर महादेव पनि माता पार्वतीसँग त्यति बेला सम्भवतः प्रेमक्रीडामा हुनुहुन्थ्यो क्यार, हामीलाई एकचोटि मात्र नभई दुई चोटि तथास्तु भनिदिनुभयो र पाँच पाँच मिनेटको अन्तरमा यी पुर्खावर्धक वंशशील उपद्राहरू जन्मिए । बस, कथा यति नै... ।’

अब भने हामीलाई हाँसो रोक्न कठिन भयो । चिया आउनुअगाडि नै हामी छानामाथिको परेवा नै उड्ने गरी हाँस्यौँ ।

झाँकी–२

त्यस्तै एक पटक हामी गुरुसहित एक रेस्टुराँमा बस्न पुगेका थियौँ । प्रायशः शुक्रबार हामी भेला हुने गर्दथ्यौँ । यस भेलालाई गुरुले नै नामकरण गरिदिएको थियो, रमाइलो भेला । रमाइलो भेला ? भएन त रमाइलो मेलाको नक्कल ? हामीले यसो भन्दा गुरुले उत्तर दियो, रमाइलो भेला भनेको रमाइलो मेलालाई माथ गरिदिने खालको विशेषण भयो नि त । गुरुले नामकरण गरेको हाम्रो रमाइलो भेलामा सधैँ गुरुको अनिवार्य उपस्थित रहने गथ्र्यो । कुनै दिन कथमकदाचित् गुरुको आगमन भएन भने हाम्रो भेला सर्वसम्मतले स्थगनतिर लाग्ने गर्दथ्यो । गुरुबिनाको हाम्रो भेला, रानुबिनाको मौरीजस्तै हुन्थ्यो । यसैले हाम्रो जमघटमा गुरु अनिवार्य पात्रका रूपमा उपस्थित हुने गथ्र्यो ।

अहिले गुरुसहित हामी यहाँ भेलारत थियौँ । स्थान एउटा रेस्टुराँ । प्रायशः शुक्रबार पारेर हामी सबै यसरी भेला हुने गर्दथ्यौँ । रमाइलो शुक्रबारभन्दा भयो । रमाइलो शुक्रबार भएकैले गुरुले रमाइलो भेला भनेको थियो । हामीले आफ्नो आफ्नो आसनमा बसेपछि खानेकुराको अर्डर ग¥यौँ अनि गुरुतिर उन्मुख भयौँ । त्यही बेला गुरुको मोबाइलमा घण्टी बज्यो– ‘चरीको घर कहाँ छ र, ए साइँला घाँस काट्यो डालीमा बसेर... ।’ रिङटोन पनि गुरुले आपूm अनुकूल राखेर हामीलाई कृतकृत बनाइदियो । मोबाइल उठाउनुअगाडि नै कल मिस भयो । 

हामीले सोध्यौँ, ‘गुरु मिस कल थियो कि ?’

गुरुको भन्यो, ‘मिस कल कहाँ... मिसेस कल थियो; घरबाट, श्रीमतीले भरे तरकारीका साथ चिनी पनि किनेर ल्याउनलाई सम्झाएको कल ।’

गुरुले यो उत्तर जसरी दियो, त्यो सुनेर हामी त हामी, यहाँहरू पनि पक्कै हाँस्नुभयो होला, महाशयवृन्द ! यसपछि हामी टेबलमा आइपुगेको खाना खानतिर लाग्यौँ । खाना खाँदा पनि कुरा भने भइ नै रह्यो । एउटा कुरा यहाँ के भने गुरु जहाँ, त्यहाँ सानातिना मार्केबल घटनाचाहिँ अनिवार्य उपस्थित हुने गर्दथ्यो, यस्तो हामीलाई लाग्थ्यो । आजचाहिँ त्यस्तो केही घटना भएको थिएन ।

खाँदाखाँदै गुरुको मुहारको भङ्गिमामा केही परिवर्तन देखा प¥यो । हामीले हे¥यौँ, के थियो ? रेस्टुराँको पर कुनातिर एक अधबैँसे सुन्दरीले गुरुलाई चिनेर वा जिस्क्याउन भनेर हात हल्लाइदिई । हात मात्र हल्लाइन, हात हल्लाएर उठी अनि देब्रे हातले हवाई चुम्बन दिएर त्यो अधबैँसे सुन्दरी बाहिर निस्केर गई । हामीले मुखामुख ग¥यौँ । गुरुले यसको उत्तरमा केही त गरेन, बरु हामीले त्यो देखेर गुरुलाई जिस्क्याउने मनसुबा बनायौँ ।

हामीले जिस्क्यायौँ पनि, ‘कसो गुरु, केटी राम्रै थिई नि, गर्लफ्रेन्ड थिई कि...!’

गुरुले चिया सुक्र्याएपछि बोल्यो, ‘केटी ? अनि गलपे्रmन्ड ? कहाँ गलपे्रmन्ड हुनु नि, यो उमेरमा पनि, तैपनि पूर्ण पारिवारिक मान्छे म...।’

हामीमध्ये कोही एकले भनिदियो, ‘यही उमेरमा त झन् गलफ्रेन्ड भयो भने राम्रो नि... ।’

गुरु रिसाएन, बरु बोल्यो, ‘होला तर मेरो मामलोमा भने अहँ, न कुनै केटी, न कुनै गलफ्रेन्ड... ।’

हामीले सोध्यौँ, ‘किन नि ?’

गुरुको उत्तर थियो, ‘किनभने अचेलका केटीहरू मेकअप गर्न र बे्रेकअप गर्न सधैँ अगाडि रहने भएकाले... ।’

गुरुले यो उत्तर जसरी दिएको थियो, सुन्दा लाग्न सक्थ्यो, पक्कै गुरुले विगतमा एक मात्र नभई दुईभन्दा बढी प्रेमिकाबाट धोका खाएको थियो । थियो वा थिएन, यो भने हामीलाई थाहा भएन र सोधेनौँ पनि ।

झाँकी–३

यो झाँकी पनि हाम्रा लागि स्मरणीय नै रह्यो । भेला हुँदा सधैँ नै उसको घरबाट मोबाइलमा कल आइरहने गथ्र्यो । कल कहिले बीचमा नै काटिन्थ्यो । पहिला त हामीलाई लाग्थ्यो, गुरुले नै जानीजानी काटेको थियो । पछि थाहा भयो, गुरुको मोबाइल नै यस्तो खाले थियो । सानो र सस्तो खाले । उसलाई उसको मोबाइल देखेर हामीले जिस्क्याएका पनि थियौँ । अहिलेको समयमा पनि यस्तो गोल्टिन बट्टाजस्तो मोबाइल बोक्ने आदि इत्यादि भनेका थियौँ । उसले भनेको थियो, यो मोबाइल उसकी श्रीमतीले बिहेको पहिलो रातमा उपहार दिएकी रे । यो कुरा पनि गुरुले बडो रोचक ढङ्गले भनेको थियो । अनि हामी नहाँस्ने त कुरै थिएन । हामी हाँस्यौँ मरीमरी, गुरुको मोबाइल देखेर होइन, गुरुले मार्मिक ढङ्गमा भनेको कुरा सुनेर ।

हामीले भन्यौँ, ‘अनि यस्तो स्मार्ट समयमा, स्मार्ट फोनको युगमा पनि यस्तो फलामको टुक्रा जस्तो सानो मोबाइल किन बोकेको गुरु ?’

यहाँनिर गुरुले जुन उत्तर दियो, त्यो सुनेर हामी हाँसेनौँ, स्तब्धित भएर गुरुलाई हेरिरह्यौँ, गुरुमा यति गुणवत्ता विशेषता पनि थियो र भन्ने हामीलाई लाग्यो पहिला त तर पछि गुरुप्रति नतमस्तक नै भयौँ ।

गुरुले भन्यो, ‘के गर्नु स्मार्ट समय भयो भनेर ?’

हामीले भन्यौँ, ‘समयअनुसार परिवर्तन हुनुप¥यो नि त ।’

गुरुले भन्यो, ‘यसरी परिवर्तन भएर के होला र ?’

हामीले भन्यौँ, ‘यो स्मार्ट फोनमा अनेक प्रकारको सुविधा र लाभ कोचिएको तिमीलाई थाहा भएन र गुरु ?’

गुरुले भन्यो, ‘थाहा भएर पनि के र ? हेर मित्रहरू; यो मोबाइल, जसलाई तिमीहरूले स्मार्ट भन्यौ नि, त्यो मोबाइल त्यसै हट्टाकट्टा अर्थात् स्मार्ट भएको थिएन, यसले धेरै कुरा खायोपियो– यसले हातको घडी खायो । यसले टर्चलाइट खायो । चिठीपत्र खायो । पुस्तक खायो । रेडियो खायो । टेपरेकर्डर खायो । क्यामेरा खायो । क्याल्कुलेटर खायो । छिमेकीको मित्रता पनि खायो । मेलमिलाप पनि खायो । हाम्रो समय पनि खायो । पैसा खायो । नाता–सम्बन्ध खायो । मुर्दा यति धेरै कुरो खाएर बन्यो स्मार्ट । बदलिँदो समयको यस्तो प्रभाव भइयो । मान्छे बहुला तर फोन स्मार्ट हुन थाल्यो । 

जबसम्म फोन वायर अर्थात् तारले बाँधिएको थियो, तबसम्म मान्छे स्वतन्त्र थिए । जहिलेदेखि फोन स्वतन्त्र भयो, मान्छे फोनले बाँधिए । आँैलाले नै निर्वाह गर्न लागे नाता–सम्बन्ध अचेल । मुखबाट निर्वाह गरिने यो युग कहाँ नै रह्यो र अब । सबै जना टचमा बिजी भए तर टचमा कोही पनि रहेनन् । यसैले मित्रहरू, मलाई यो स्मार्ट फोनभन्दा लोसे मोबाइल नै उपयुक्त लागेर बोकेको... ।’

हाँस्ताहाँस्तै गम्भीर हुने जुन स्थिति आउने गर्दथ्यो, त्यही स्थितिमा हामी पुग्यौँ तर हामी हाँसेनौँ । गुरुको यो गुरुगम्भीर वाणी हामीलाई यति घत प¥यो कि के भन्ने ? फलतः हाँसो भित्रै थिचियो, सोचाइ माथि तैरियो । गुरुलाई हामीले हास्यवाचकका रूपमा हेर्ने गर्दथ्यौँ, सधैँ मनोरञ्जनात्मक समीपताको कोणबाट व्यवहृत गर्दथ्यौँ, त्यो सबै आजबाट, अहिलेबाटै हामीले फिर्ता लियौँ र गुरुको यो गुरुगम्भीर स्वभावलाई नतमस्तक भई आत्मसात् गर्न लाग्यौँ ।

झाँकी–४

–गुरु, आज त तिमी गम्भीर देखियौ नि !

–अँ, यस्तै केही... ।

–किन त ?

–केही थिएन, सामान्य कुरा । कहिलेकाहीँ सामान्य कुराले पनि पिरोल्ने गर्दथ्यो नि, यसैले ।

–गुरुलाई पनि पीर ? केको पीर ? कसरी प¥यो पीर ?

–थाहा भएन, कहिलेकाहीँ आपूmभित्रको भयङ्कर एकान्तले केके गर्न लागेको भान हुन थाल्यो ।

–आज गुरुको यो रहस्यात्मक कुरा बुझिएन ।

–कुरो रहस्य थिएन, सोचनीय थियो ।

–हामीलाई भन न, हामी केही मदत गरौँ कि त ।

–मदत माग्नुपर्ने त्यस्तो केही कुरा पनि थिएन ।

–गुरु त सधैँ हँसिलो पाराले जीवनप्रति सकारात्मक सोच राख्ने मान्छे, तर आज... ।

–आज पनि सकारात्मक नै भएँ, नकारात्मक भइनँ ।

–अनि किन त अक्षर अक्षरमा भावको खोजी गर्ने पण्डितजस्तो कूट रूपमा देखिएको ?

–त्यो पनि थिएन ।

–केही त थियो, कतै देशकालपरिस्थितिले गर्दा जीवनप्रति विमोह भएको कि ?

–हाम्रो देशको के कुरा र ?

–हाम्रै देशको कुरा त थियो, जहाँ निराशा हुन कुनै पनि कारण चाहिँदैन ।

–सत्य बोल्यौ मित्रहरू !

–यहाँ हामी जीवनप्रति उत्साहहीन भएरै सधैँ कष्टप्रद देखिएको... । कहाँ भयो र खोइ नागरिकको मङ्गल ?

–अँ भन्या । उता अमेरिकातिर वैज्ञानिकहरू मङ्गलमा जीवन खोजिरहे, यता हामी भने जीवनमा मङ्गल खोजिरह्यौँ ।

–सत्य वचन गुरु, सही भन्यौ । साँच्ची, भोलि शनिबार गुरुको कति फुर्सद होला ?

–शनिबार ? कहाँ हुनु फुर्सद !

–किन  ?

–घरको समय नै बाँकी हुँदैन ।

–के भनेको यो ?

–शनिबार त मेरो घरमा दुःखको मेला यस्तरी लाग्ने कि के भन्ने ? बिहानै बजार जाऊ । किनमेल गर । घर फर्क । अनि सफासुग्घर गर । लुगा धोऊ । पकाइतुल्याइ गर । शनिबारै पाहुना आउने । उनीहरूको स्वागत गर्न खट । यसरी आफ्ना लागि त समय नै उब्रिँदैन । मेरा लागि एक प्रकारले दुःखको मेला उम्रिने भएकाले मसँग शनिबार कुनै समय रहँदैन । म पूरै टाट पल्टिएको मान्छेसरि... ।

००० 

यी सबै झाँकी हामीले निवृत्त पारिसकेपछि हामी गुरुको घरआँगनमा पुग्छौँ । हामी सबैलाई जसरी भए पनि गुरुकहाँ आज आउनू भन्ने सन्देश आएपछि हामी सबै एक ठाउँमा भेला भएर यहाँ गुरुकहाँ आएका हौँ । गुरुकहाँ केही अवश्य भएको छ, यसैले हामीलाई बोलाइएको हो भन्ने हामीलाई लागेको छ । आज गुरुले केही अवश्य पनि हामीलाई परिहासपूर्ण क्षण प्रदान गर्नेछ, यो पनि साथै लागेको छ हामीलाई । यही सोच लिएर हामी गुरुको आँगनमा पुग्छौँ त यो के ? आँगनमा मान्छेहरूको हूल । कुनै कुनाबाट रोइरहेको नारीस्वर । हामी झस्किन्छौँ । हाम्रो परिहासयुक्त सोच एकदमै चकनाचुर हुन पुग्छ । पहिला त हामी केही पनि थाहा हुने स्थितिमा पुग्ने छैनौँ । मान्छेहरूको घेरालाई पन्छाएर भित्र छिर्छौं । भित्र, ओह ! एउटा अनिच्छुक, अनागत, नसोचिएको दृश्यले हामीलाई एकदमै काठ बनाइदिन्छ । हामी केही समयसम्म एकटकले लट्ठी  बनेर उभिन्छौँ । 

गुरुको शव । राखिएको । शवनिर उसका छोराछोरी र श्रीमती रोइरहेका । यो के ? कसरी ? अनेक प्रश्नले हामीलाई घोच्न थाल्छन् । हामीले देख्छौँ, गुरुको अनुहारमा कुनै किञ्चित् भाव छैन । अधरमा एउटा मर्मभेदी मुस्कान टाँसिएको छ । गुरु अहिले गम्भीर भएर सुतिरहेको जस्तो देखिन्छ । अहिले नै उठेर हामीलाई स्वागत गर्नेछ भन्ने पनि हामीलाई लाग्छ ।

बिचरा गुरु ! कोरोनामा ग्रसित भएर बच्न सफल भएको मान्छे अहिले डेङ्गीले गालेर आफ्नो इहलीला त्याग्न बाध्य भएछ । गुरुको शव देखेर हामी केही बोल्न नसकी उसको शवलाई घेरेर भुइँमा थचक्कै बस्न पुग्छौँ ।

अनि हामीलाई लाग्न थाल्छ, गुरुले आफ्नो जीवनको दुःखको मेलाबाट आज मुक्ति पाएको छ तर यो पनि सँगै लाग्छ, ऊ अवश्य पनि हामीबीच आउनेछ र हामीलाई जीवनप्रति सामान्य भएर बाँच्न प्रेरणा दिनेछ । हामीलाई हँसाउनेछ । मित्रताको अर्थ सिकाउनेछ ।

–गुरु, यो युगका लागि तिमीलाई बिदा, तर तिमी मरेका छैनौ । हामीबीच हाम्रो मुटुभित्र तिमी सदैव बाँच्नेछौ, बाँचिरहनेछौ... ।

हामी क्वाँक्वाँ रुन लाग्छौँ । त्यही बेला एक्कासि यो पनि लाग्न थाल्छ; गुरु बिउँतेर जुरुक्क उठ्नेछ र परिहासपूर्ण दृष्टिले हामीलाई हेरेर भन्नेछ, ‘अरे मित्रहरू ! जीवन एउटा कथा हो, सबैले आफ्नो आफ्नो चरित्र चित्रण गरेर जानुपर्नेछ । यसैले आउने मान्छे जान्छ, यसमा के रुनु ? जीवन जति नै दुःखको मेला भए पनि शाश्वत सत्य त यही हो– द सो मस्ट गो अन । यसैले हाँस मित्रहरू, हाँस... हा... हा... हा... !’