• १३ साउन २०८१, आइतबार

पूर्व अध्यक्ष साहविरुद्ध ३१ लाख ७४ हजारको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, वैशाख ७ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष राम वल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पूर्व अध्यक्ष साहमाथि लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रकम स्वीकृत गरेको तर उक्त कार्य भने समयमै सम्पन्न नगरी बीचमै अलपत्र पारेर छाडेको आरोप हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले विष्णुदेव यादव अध्यक्ष रहेको उपभोक्ता समितिले पनि आर्थिक वर्ष २०७६÷७७ अर्को उपभोक्ता समिति निर्माण गरिएको तर भौतिक संरचना बेकम्मा भएको अवस्थामा पाँच लाख २८ हजार ४४० रुपियाँ भुक्तानी लिने÷दिने कार्य गरेको बिहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

आयोगले पछिल्लो उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले सो निर्माण जिम्मा लिएपनि अघिल्लो आर्थिक वर्षको डिजाइन समेत नभएको र पुनः डिजाइन नगरी उपभोक्ता समितिका पदाधिकारीको मिलेमतो र संलग्नताबाट भुक्तानी नै गर्न नमिल्ने २६ लाख ४६ हजार २७ रुपियाँ लिने÷दिने कार्य भएको जनाएको छ ।  

सो आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष साहसहित योजना शाखा प्रमुख चन्द्रेश्वरप्रसाद यादवविरुद्ध बिगो ३१ लाख ७४ हजार ४६७ रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।

यसैगरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र कुमार महत, तत्कालीन लेखापाल इन्द्र कुमार कर्ण, वडाअध्यक्ष विद्यानन्द साह सुडी, वडा सचिव रामनारायण मण्डल, उपभोक्ता समिति अध्यक्ष विष्णुदेव यादवसहित पदाधिकारीलाई बिगो पाँच लाख २८ हजार ४४० रुपियाँको आरोप लागेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकेत धनिक लाल यादव र सुजित कुमार यादव, लेखापाल नरेश कामैत, उपभोक्ता समितिका अध्यक्ष उतिम लाल मण्डल, कोषाध्यक्ष तिगा कुमारी मण्डल लगायतका पदाधिकारीविरुद्ध भने बिगो २६ लाख ४६ हजार २७ रुपियाँ भ्रष्टाचार मुद्दाको आरोपपत्र विशेष अदालत, काठमाडौंमा दायर भएको आयोगले जनाएको छ ।