काठमाडौँ, वैशाख ७ गते । ‘पासाङ: इन द स्याडो अफ एभरेस्ट’ फिल्म वैशाख १५ गते देखि हलमा प्रदर्शन हुने भएको छ । बुधवार प्रिमियर सो सँगै आयोजित पत्रकार सम्मेलनमा देशभरका क्युएफएक्स हलहरूमा फिल्म प्रदर्शन हुने पासाङ ल्हामु फाउन्डेसनले जानकारी दिएको छ ।
राष्ट्रिय विभूति एवम् पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक वढी समय मेहनत गरेर फिल्म तयार पारेको फाउन्डेसनकी अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिनुभयो । ७२ मिनेट फिचर रहेको फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहेका छन् । २०२२ मार्चमा शान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको यस फिल्म ३० औ“ पासाङ ल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले बुधबार सिभिल मलको हलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायत उच्च व्यत्तित्वहरुको उपस्थितिमा नेपालमा पहिलो पटक फिल्मको प्रिमियर गरेको छ । विश्वका महिलाहरूले आफ्नै देशको हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्दा नेपाली महिलाले सगरमाथाको आरोहण गर्न किन नसक्ने भन्ने साहस बोकेर पासाङ ल्हामु शेर्पाले वि.सं. २०५० वैशाख १० गते सगरमाथाको आरोहण गर्न सफल भएका थिए । तर उहाँको आरोहण गरी फर्कने क्रममा मृत्यु भयो ।
फिल्मले पासाङ ल्हामु शेर्पाको दुखद र प्रेरणादायी यात्राको वर्णन गरेको छ । नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाज देखि परिवारसम्मको सहयोग लगायतका विषय जोडेर समाजलाई रूपान्तरणको सन्देश फिल्मले दिएको छ । साहसी नेपाली महिलाले पछिल्लो पिँढीका महिलाहरूका लागि सकारात्मक सन्देश दिएको र नेपालको इज्जतलाई विश्वसामु कायम राखेको भन्दै उहाँप्रति सभामुख घिमिरेले सम्मान समेत व्यक्त गर्नुभयो ।
पटक पटक सगरमाथा आरोहणको दृढ प्रयास गर्नु र बाधा अवरोधहरूलाई जितेर सफलता गर्नु नै फिल्मको मुख्य सन्देश बनेको छ । यो फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिभलमा प्रदर्शन भई सकेको छ । टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिभल र अन्य प्रतिष्ठित फेस्टिभलहरू सहित १४ वटा पुरस्कार समेत जिती सकेको छ ।
पासाङ ल्हामु जस्ता शाहासी महिलाबाट सपनाहरू बुन्न सक्ने, सफलता प्राप्त गर्न बाधाहरू सामना गर्न सक्नु नै महिलाको एउटा उदाहरणीय साहस फिल्ममा देखाइएको छ । विद्यार्थी, अभिभावकहरू र बृद्धबृद्धा सम्म जनचेतना पुग्ने लक्ष्यले फिल्म प्रदर्शन क्युएफएक्समा मात्र नभएर लुक्ला, नाम्चे लगायतका सातै प्रदेशका मुख्य मुख्य सहरहरूमा प्रदर्शन गर्ने फाउन्डेसनले जनाएको छ ।