• १३ साउन २०८१, आइतबार

निर्यातबाट डिजेल आयात मात्र धान्ने

blog

काठमाडौँ, वैशाख ७ गते । मुलुकले निर्यातबापत प्राप्त गर्ने आम्दानी डिजेल आयातका लागि मात्र पर्याप्त हुने देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत महिनासम्मको तथ्याङ्कअनुसार मुलुकले एक खर्ब १८ अर्ब २७ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । यसै अवधिसम्म डिजेल आयातका लागि मुलुकबाट एक खर्ब १२ अर्ब ४० करोड रुपियाँ बाहिरिएको छ । यस हिसाबले डिजेल आयातको तुलनामा कुल निर्यात करिब चार अर्ब रुपियाँ मात्र बढी छ । जुन रकमले नेपाल भित्रने कुनै पनि प्रमुख वस्तु आयात गर्न पुग्दैन । 

विभागका अनुसार चैतसम्म नेपालले १२ खर्ब एक अर्ब ५० करोड रुपियाँको वस्तु आयात गरेको छ । २०७९ वैशाखदेखि विभिन्न १० वटा वस्तुमा सरकारले लगाएको आयात प्रतिबन्धका कारण आयात घट्दै आएको थियो । यद्यपि पुसमा सरकारले यस्तो प्रतिबन्ध फुकुवा गरेको थियो । जसको प्रभाव चैतको आयातमा देखिएको छ । चैतमा मात्रै एक खर्ब ४३ अर्ब रुपियाँको वस्तु आयात भएको छ, जुन चालु आर्थिक वर्षको नौ महिनासम्मको सबैभन्दा धेरै हो । 

गत आवको नौ महिनासम्मको तुलनामा समग्र आयात भने १८ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ । गत आवको सोही महिनासम्म १४ खर्ब ६६ अर्ब ६६ करोड रुपियाँको वस्तु आयात भएको थियो । 

आयात भएका प्रमुख वस्तुमा डिजेलपछि पेट्रोल रहेको छ । यसबीचमा ४९ अर्ब ७४ करोड रुपियाँको पेट्रोल आयात भएको छ । त्यसपछि ४४ अर्ब ८४ करोड रुपियाँको एलपी ग्यास आयात भएको तथ्याङ्क छ । फलाम र त्यससँग सम्बन्धित उत्पादनको आयातबापत ३० अर्ब ६३ करोड रुपियाँ बाहिरिएको छ । त्यस्तै धेरै आयात भएका वस्तुमध्ये पाँचौँ स्थानमा रहेको कच्चा भेटमास तेलको आयातमा ३० अर्ब रुपियाँ बाहिरिएको छ । त्यस्तै चैतसम्म २२ अर्ब रुपियाँको कच्चा पाम तेल आयात भएको छ । कच्चा भटमास र पाम प्रशोधन गरेर भारत निर्यात गर्ने प्रवृत्ति बढ्दा पछिल्लो समय यसको आयात पनि बढिरहेको छ । 

आयातजस्तै चालु आवमा निर्यात पनि घटेको तथ्याङ्कले देखाउँछ । २०७८ चैतसम्मको तुलनामा गत चैतसम्म कुल निर्यात २६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा पहिलो पटक दुई खर्ब रुपियाँको निर्यात गरेर नयाँ इतिहास बनेकामा यस पटक भने निर्यात क्रमशः घटिरहेको छ । समीक्षा महिनासम्म नेपालबाट १७ अर्ब २९ करोड रुपियाँ बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यसपछि आठ अर्ब ४७ करोड रुपियाँको गलैँचा, आठ अर्ब ४३ करोड रुपियाँको भटमास तेल, छ अर्ब ३५ करोड रुपियाँको अलैँची र तीन अर्ब ४३ करोड रुपियाँको फेल्ट निर्यात भएको तथ्याङ्क छ । 

सदाझँै नेपालको सबैभन्दा ठूलो व्यापार साझेदारका रूपमा भारत नै रहेको छ । चैतसम्म नेपालले भारतबाट सात खर्ब ५३ अर्ब रुपियाँको वस्तु आयात गर्दा त्यसतर्फ ८२ अर्ब ९८ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । त्यसपछि दोस्रोमा रहेको चीनबाट नेपालले एक खर्ब ६२ अर्ब ४४ करोड रुपियाँको वस्तु आयात गर्दा जम्मा ६३ करोड ६८ लाख रुपियाँको मात्र त्यसतर्फ निर्यात भएको छ । कच्चा पाम तेलका कारण इन्डोनेसिया नेपालको तेस्रो ठूलो व्यापार साझेदार बनेको छ । चैतसम्म इन्डोनेसियाबाट नेपालले ३३ अर्ब २५ करोड रुपियाँको वस्तु आयात गरेको छ भने १९ करोड ३३ लाख रुपियाँ वस्तु निर्यात गरेको छ । भारतपछि नेपालले सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा वस्तु निर्यात गरेको देखिन्छ । चैतसम्म अमेरिकामा मात्रै करिब १४ अर्ब रुपियाँको वस्तु निर्यात भएको छ भने त्यहाँबाट १४ अर्ब ४७ करोड रुपियाँको आयात भएको छ । 

आयात घटे पनि निर्यात विस्तार हुन नसक्दा व्यापार घाटाको ठूलो खाडल भने कायमै छ । चैतसम्म नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपियाँ पुगेको छ । व्यापार घाटा ठूलो भए पनि अघिल्लो चैतको तुलनामा भने १७ प्रतिशतले कम हो । समग्र आयात नै घट्दा व्यापार घाटा पनि विगतको तुलनामा केही कम भएको देखिन्छ ।