• १३ साउन २०८१, आइतबार

अमेरिकालगायत देशमा पठाउने भन्दै करोडौँ ठगी गर्ने पक्राउ

blog

पक्राउ परेका टीकाबहादुर भण्डारी र उज्जवल खड्का । नेपाल पुलिस

काठमाडौं, वैशाख ६ गते। अमेरिका लगायतका देशमा पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने भक्तपुरका उज्ज्वल खड्कालाई प्रहरीले पक्राउ गरेको छ। 

खड्काले सुनिला गुरुङसहित विभिन्न २० जना व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानका लागि प्रतिव्यक्ति ३० लाख रुपियाँ लाग्ने र पछि प्रतिष्ठित कम्पनीमा मासिक चार लाखभन्दा बढी तलब हुने विश्वास देखाइ प्रलोभनमा पारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बुधबार सार्वजनिक विवरणमा ४४ वर्षीय खड्काले पीडितबाट पटक–पटक गरी तीन करोड ५६ लाख आठ हजार रुपियाँ रकम लिएर सम्पर्कविहीन थिए भने प्रहरीले उनलाई हिजो मंगलबार राति ८ बजे रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरिएको छ। 

यसैगरी, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका -६ स्थायी घर भएका हाल काठमाडौं महानगर १० मा अस्थायी रूपमा रहेका टीकाबहादुर भण्डारी प्रहरीले पक्राउ गरेको छ। 

पोर्चुगलमा वैदेशिक रोजगारी मिलाइदिने भनेर मिलन तामाङसहित दश जनालाई पटक–पटक गरी जम्मा १५ लाख रुपियाँ रकम लिएर भण्डारी सम्पर्कविहीन थिए। विशेष प्रहरी टोलीले भण्डारीलाई मंगलबार काठमाडौं ताहाचलबाट पक्राउ गरेको छ। 

यस्तै, अमेरिका लैजाने भन्दै कास्की, दाङ, मोरङ, रुकुम लगायतका विभिन्न दश जनाबाट करिब पाँच करोड, १९ लाख ९७ हजार रुपियाँ ठगी गरेको जाहेरी पत्र प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ। 

यसरी ठगी गर्नेमा सन्देश शर्मा, सानु भण्डारी, केशव दुलालको संयुक्त मिलेमतो रहेको जाहेरी पत्रमा उल्लेख छ। प्रहरी कार्यालयले पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।