• २३ पुस २०८१, मङ्गलबार

संसद्‍ राजसंस्थाको पैरवी गर्ने थलो र विज्ञापन एजेन्सी होइन : सांसद दाहाल

blog

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहाल।

काठमाडौं, वैशाख ६ गते। नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको छ। बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको हो। 

सांसद राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबरजस्ती पैरवी गर्ने थलो संसद् नभएको बताउनुभयो। उहाँले संसद्लाई राजसंस्थाको पैरवी गर्ने थलोको रूपमा जनताले नमान्ने बताउनुभयो। 

सांसद दाहालले संसद् विज्ञापन एजेन्सी भएको स्पष्ट पार्नुभयो। उहाँले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताउनुभयो। उहाँले संसदमा अमर्यादित, अशिष्ट र अराजक बहसहरू हुने गरेको भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदको ध्यानाकर्षण गराउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन् र बहस भएका छन्। यी बहसहरू अलि अमर्यादित छन्। अशिष्ट छन्। अराजक छन्। मैले पटक–पटक उठाउँदै आएको छु। कमसेकम संविधानको जगमा उभिएर हामीले बहस गर्नुपर्छ। छलफल गर्नुपर्छ। संसद् विज्ञापन एजेन्सी होइन, यहाँ विज्ञापन गर्न पाइँदैन। कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाको जबरजस्ती पैरवी गर्ने थलोको रूपमा पनि संसद्लाई जनताले पत्याउँदैनन् र मान्दैनन्। यहाँ बहस जसरी उठेका छन्। कमसेकम विचार केन्द्रित भएर, राष्ट्रिय स्वार्थसँग केन्द्रित भएर हामीले हाम्रा बहसको उठान गर्नुपर्छ भन्ने विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु।’’

उहाँले देशमा अर्बौँको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो। उहाँले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा युरिया मल कारखाना छिटोभन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो।