• १३ साउन २०८१, आइतबार

तानसेनका ५७ घरटहरामा चल्यो डोजर

blog

टहरा हटाउँदै नगरपालिका । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, वैशाख ६ गते ।
 तानसेन –४, मख्खनटोल, शित्तलपाटीका ५७ वटा घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको छ । नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको नाममा रहेका ५७ वटा घरटहरा नगरपालिकाले बुधबार बिहान ७ बजेदेखि हटाउन सुरु गरेको हो । नगरपालिकाले तीन वटा डोजर, माटो सफा गर्ने पानीको फोहोरा, सामान उठाउने ट्रक तथा अन्य बस्दोबस्तीका सामान तयार गरेर घरटहरा हटाउन थालेको जनाएको छ ।

पाल्पा दरबार परिसरमा रहेको घरटहरा हटाउन नगरपालिकाले व्यापारी तथा व्यवसायीलाई ३५ दिने सूचना जारी गरेको थियो । सूचना अनुसार घरटहरामा व्यापारी व्यवसायीले घरटहराका सामान हटाइसकेका छन् ।

नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएको जानकारी दिनुभयो । प्रवक्ता कार्कीले दरबार परिसरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रूपमा विकास गर्न घरटहरा हटाइएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार नगरपालिकाले प्रहरी प्रशासन, नगर प्रहरीसहित, आवश्यक जनशक्ति टहरा हटाउने स्थलमा खटाएर काम सुरु गरेको हो । घरटहरा हटाएपछि तत्कालै यहाँका फोहोर हटाउने र आवश्यक सौन्दर्यकरण गरिने ज्ञवालीको भनाइ छ । यहाँबाट विस्थापित भएका अधिकांश व्यवसायीले अर्को स्थानमा व्यापार गर्न थालिसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले घरटहरा हटाउँदा मर्कामा पर्ने व्यापारीलाई नगरपालिकाले व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो । व्यापारीहरूले भने नगरपालिकाले आफूलाई एक्कासि टहराबाट हटाएर अन्याय गरेको बताएका छन् ।