• १३ असोज २०८१, आइतबार

एमबाप्पेको कीर्तिमानमा पीएसजीको सहज जित

blog

गोल गरेपछि खुसी मनाउँदै पीएसजीका केलियन एमबाप्पे। तस्बिर : एएफपी

काठमाडौं, वैशाख ३ गते । सुपर स्टार केलियन एमबाप्पेले कीर्तिमान बनाएको खेलमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लेन्समाथि सहज जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलले हरायो । १० खेलाडीमा समेटिएको लेन्सलाई हराउन पीएसजीका लागि केलियन एमबाप्पे, लियोनल मेस्सी र भिटिन्हाले गोल गर्नुभयो ।

लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले सान्त्वना गोल फर्काउनुभयो । १९औं मिनेटमा लेन्सका अब्दुल सामेदले रातो कार्ड पाउँदै बाहिरिएपछि पीएसजीलाई जितको राम्रो मौका मिलेको थियो । 

३१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको उत्साह जगाउनुभयो । यस गोलसँगै एमबाप्पे लिग वान फुटबलमा पीएसजीका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउनुभयो ।

उहाँले एक सय ६७ खेल खेल्दै एक सय ३९ गोलको कीर्तिमान रच्नुभएको हो । यसअघि यस कीर्तिमान एडिन्सन काभानीको नाममा थियो । 

यस्तै भितिन्हाले ३७औं र मेस्सीले ४०औं मिनेटमा गोल गर्नुभयो । लेन्सका फ्रान्कोस्कीले ६०औं मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काउनुभएको थियो ।

जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले ३१ खेलबाट ७२ अंक बनाएको छ । पराजित लेन्स ६३ अंकसहित दोस्रो स्थानमा छ । एजेन्सी