• ९ मंसिर २०८१, आइतबार

सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए

blog

खैबर पख्तुनख्वा (पाकिस्तान),  वैशाख ३ गते । खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् ।     

शनिबार गरिएको उक्त कारबाहीमा दुई जना सुरक्षा अधिकारीले पनि वीरगति प्राप्त गरेका पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)लाई उद्धृत गर्दै दैनिक समाचारपत्र डनले जनाएको छ । सुरक्षा फौजले कारबाहीस्थलबाट विभिन्न हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।     

सुरक्षाकर्मीले गत मङ्गलबार खैबर पख्तुनख्वाको बाजौर जिल्लाको लोसुम क्षेत्रमा गरेको कारबाहीमा तीन जना र अघिल्लो दिनको कारबाहीमा पनि तीन जना आतङ्ककारीलाई मारेको थियो ।     

विगत केही महिना यता देशका विभिन्न भागमा आतङ्कवादी सङ्गठनले आक्रमणलाई तीव्र पारेपछि सक्रिय बनेको सुरक्षा फौजले प्रतिआतङ्कवादका कारबाहीलाई व्यापक बनाएको छ ।     

आतङ्कवादी सङ्गठन तेहरिक–ए–तालिबान पाकिस्तान र सरकारसँगको वार्ता गत वर्षको नोभेम्बरमा भङ्ग भएपछि अफगानिस्तानको सीमावर्ती क्षेत्रमा केन्द्रित भएर उक्त सङ्गठनले खैबर पख्तुनख्वाका सुरक्षाकर्मीमाथि आक्रमण बढाएको छ । – (रासस/ एएनआई)