सिराज खान
नेपालगन्ज, माघ ३ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रहरी प्रतिवेदनमा एक महिनाको अवधिमा १११ वटा सवारी दुर्घटना भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले पुस महिनामा जिल्लामा १११ वटा सवारी दुर्घटना भएको बताउनुभयो । यो अवधिमा दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने १६० जना घाइते भएका छन् ।
उहाँका अनुसार जिल्लामा भएका दुर्घटनाको अध्ययन र विश्लेषण गर्दा अधिकांश दुर्घटना तीव्र गतिमा सवारी साधन चलाएकै कारण भएको देखिएको छ । ५९ वटा दुर्घटना तीव्र गतिका कारण भएको हो।
मादक पदार्थ सेवन गरेका कारण सात वटा र छाडा चौपायाका कारण केही दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुस महिनामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १५० वटा सवारी साधनमाथि कारबाही गर्दा १८ लाख २२ हजार ५०० रूपियाँ राजस्व संकलन भएको छ ।