पङ्क्तिकार पेसाले मेडिकल अफिसर उमेरले जेनजी समूह । ड्युटीमा रहेको मेडिकल अफिसर भएकाले स्वयम् आन्दोलनमा प्रत्यक्ष सहभागी हुन सकिनँ । मन भने पूर्ण रूपमा त्यतै थियो । मलाई पूर्ण विश्वास थियो यो आन्दोलन शान्तिपूर्ण हुने छ, हिंसात्मक रूप लिने छैन । युवाको नेतृत्वमा अघि बढिरहेको आन्दोलन भएकाले आन्दोलनबाट सकारात्मक परिणाम आउनेमा आशा थियो ।
नेपालमा गरिबी छ, यो निर्विवाद सत्य हो । म मध्यम वर्गीय परिवारबाट आएकी हुँ । मेरा आमाबुबा पनि अन्य धेरै नेपाली जस्तै गाउँबाट सहर आएर, दिनरात सङ्घर्ष गर्दै यहाँसम्म आइपुगेका हुन् । आज हामी जहाँ छौँ, त्यो सबै उहाँहरूको कठोर मेहनतको परिणाम हो । आमाबुबाले सानैदेखि मेहनत, पैसा, परिवार र सङ्घर्षको महìव बुझाउनुभयो । धेरै नेपाली नागरिकको कथा पनि यही हो । अन्य जिल्लाबाट काठमाडौँ आएर सङ्घर्ष गर्दै आफ्नो आवाश्यकता पुरा गरेर त्यसैमा रमाइरहेका थुप्रै मध्यमवर्गीय परिवार काठमाडौँमा छन् । हरेक नेपाली नागरिक, जो भविष्यमा केही गर्ने सपना बोकेर काठमाडौँ आएको छ, उसले जीवनमा आफ्ना सपनालाई बिपनामा परिवर्तन गर्न सकेको भने छैन । धेरै परिवार जति मेहनत गर्दा पनि पनि त्यही अवस्थामै छन् आज पनि । नेपालका धेरै गाउँघरमा गरिबीको अवस्था हामीले कल्पना गरेभन्दा बढी छ । यी सबै आधारमा भन्न सकिन्छ कि नेपालमा गरिबी थियो, छ र अझ धेरै समयसम्म रहनेछ ।
समयसँगै अवस्था केही बदलिए पनि गरिबीले पिल्सिएको मानसकिताले मानिसभित्रको मानवता नै कमजोर बनाइदिएको छ । हामीमा आफ्नो परिवार, छिमेकी र देशप्रति माया गर्ने भावनासमेत कमजोर हुँदै गएको छ । कसैको घर जलाउन, परिवारलाई घरबाट निकालेर लुटपाट गर्न, भाटभटेनी जस्तो स्थान जहाँ धेरै नेपालीले रोजगारी पाएका छन्, त्यो स्थान जलाउन, देशका बहुमूल्य संरचना ध्वस्त पार्न, आफ्नै उमेरका बुबाआमा जस्तै वृद्ध÷वृद्धालाई कुट्न र लछार्न हामी पछि परेनौँ; बरु अरूलाई पनि उक्सायौँ । आन्दोलनमै नउत्रिएका मानिससमेत घरबाट निस्केर लुटपाट गर्न गएको देखियो । यसले देखाउँछ– गरिबी केवल मानिसको आर्थिक अवस्थामा मात्र होइन, यो त मानसिक रूपमै रहेको छ ।
नेपालीलाई गरिबीले यति धेरै किन सताएको होला ? मानिसलाई कुनै पनि प्रकारको डरकै कारण विवेक टिकाउन गाह्रो छ । अभावले हिँडिरहेको मानिस माया र प्रेमबारे सोच्नै सक्दैन । त्यसैले भविष्यमा हुन सक्ने गरिबी र अभावको डरका अगाडि राष्ट्रप्रतिको माया र राष्ट्रियता ओझेलमा पर्छ । आफूलाई बचाउने प्रयासमा, आफ्नै जीवनको चिन्तामा रुमल्लिँदा अरूप्रति प्रेम र सम्मान हराउँदै जान्छ । नेपाली जनतामा यति गहिरो गरी बसेको यो अभावको डर आखिर कहाँबाट आयो ? रोजगारीको अभाव र भएको रोजगारीको असुरक्षाबाट डरको जन्म भएको हुनु पर्छ । राजनीतिक अस्थिरताका कारण रोजगारी सिर्जना हुन नसक्नु र भएको रोजगारी पनि सुरक्षा नहुनु नै यसको मूल कारण हो ।
विसं २००७ मा राणा शासनको अन्त्यसँगै प्रजातन्त्र आयो । अहिले २०८२ साल चलिरहेको छ । ७५ वर्षका अवधिमा नेपालको राजनीतिले असङ्ख्य उतारचढाव भोग्यो । धेरैले राजनीतिक आन्दोलनका नाममा ज्यान गुमाए, असङ्ख्यले आफ्नो सम्पूर्ण जीवन राजनीतिमै समर्पण गरे । शासन प्रणाली फेरिए, देश हल्लाउने घटना भए । हरेक सङ्कट पार गर्दै नेपाली समाज यहाँसम्म आइपुगेको छ । यति हुँदाहुँदै पनि सामाजिक दृष्टिले हेर्दा आमनेपालीले सधैँ भोग्दै आएको एउटै साझा समस्या छ, गरिबी र अनिश्चितता । यो अनिश्चितताले आमनेपालीको जीवनमा कस्तो असर पार्छ भन्नेबारे हामीले कहिल्यै गहिरिएर सोचेनौँ । अनिश्चितताबाट डर जन्मिन्छ । नेपाल जस्तो गरिब देशमा राजनीतिक अस्थिरताले रोजगारीको असुरक्षा जन्माउँछ । त्यो असुरक्षाले अभावको डर पैदा गर्छ । अन्ततः, समाजमा केही स्थापित भइसकेको व्यक्ति पनि राष्ट्रको भलो सोच्ने ठाउँमा आफू र आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिन बाध्य हुन्छ ।
२०/२५ वर्षको एउटा युवा गाउँबाट सहर आउँछ । उसले यहाँ आएर राम्रो काम गर्ने, पैसा कमाउने, गाउँमा आमाबुबालाई पैसा पठाउने, भाइबहिनीलाई पढाउने र धेरै मेहनत गरेर परिवारको गरिबी हटाउने सपना बोकेको हुन्छ । त्यही उद्देश्यका साथ उसले भाटभटेनी जस्तै निजी व्यवसायी घरानामा काम पाउँछ । जागिरबाट हुने मासिक आम्दानीबाट उसले केही पैसा गाउँ पठाउँछ, भाइ वा बहिनीको पढाइ खर्च धान्छ, काठमाडौँमा आफ्नो दैनिक खर्च चलाउँछ । अलिकति भविष्यका लागि बचत गर्न खोज्छ । काठमाडौँमा उसको सम्पूर्ण जीवनयापन त्यही जागिरमा भर पर्छ । भाटभटेनी नै जलेर नष्ट भयो भने उसको रोजगारी पनि सकिन्छ । यस्तो अवस्थामा काठमाडौँमा उसैलाई बाँच्नसमेत गाह्रो हुन्छ । विभिन्न अभाव र परिस्थितिको सामना गर्दा गर्दै उसलाई डर पैदा हुन्छ । यही डरले मानिसलाई चोरी, लुटपाट जस्ता गलत बाटोतर्फ आकर्षित गर्छ ।
जेनजी आन्दोलनपश्चात् व्यवसायी मीनबहादुर गुरुङले, भाटभटेनीका प्रायः सबै भवनमा क्षति पुगेको अवस्थामा पनि त्यहाँ कार्यरत कर्मचारीको जागिर पूर्ण रूपमा सुरक्षित राख्नुभयो । यो केवल व्यावसायिक निर्णय मात्र होइन, सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण पनि हो । कठिन समयमा हजारौँ परिवारको जीविकोपार्जन सुरक्षित राख्नु भएकोमा उहाँलाई धन्यवाद दिनै पर्छ । भाटभटेनी र हिल्टन होटेल जस्ता होटेल जलेर नष्ट भए । यिनै भवनमार्फत हजारौँ नेपाली युवाले रोजगारी पाएका थिए । भवन जलेसँगै धेरैको रोजगारीसमेत अनिश्चित बनेको छ । हामीभित्र चेतनाको अभाव यति गहिरो छ कि के गर्नु पर्छ वा गर्न हुँदैन भन्ने आधारभूत बुझाइसमेत हराउँदै गएको छ । हामीले आफ्नै कर्मले भविष्य जोखिममा पारिरहेका कुरा अझै बुझ्न सकिरहेका छैनौँ ।
नेपालमा करिब २० प्रतिशत जनसङ्ख्या बेरोजगार छन् । धेरै नेपाली आफू र आफ्नो परिवारलाई जोगाउन बिदेसिन बाध्य भएका छन् । कोही खाडी मुलुकमा गएर कठोर श्रम गरेर घरमा पैसा पठाइरहेका छन् भने कोही पढेर, सङ्घर्ष गरेर, पूरा परिवारसहित विदेशमै बसाइ सरेका छन् । यसको अर्थ नेपालमै बसेर काम गरेर जीवन बिताउने जनसङ्ख्या कम हुँदै गइरहेको छ । नेपालभित्र सहज रूपमा बस्न र आफूले चाहे जस्तो काम गर्न सक्ने मानिस मुख्यतः दुई प्रकारका छन्– पहिलो, ती मानिस जो पहिल्यैदेखि स्थापित परिवारबाट आएका छन्, जसका आमाबुवाको राम्रो पहुँच, बलियो नेटवर्क र सामाजिक प्रभाव छ । दोस्रो, ती मानिस जो असाध्यै मेहनती, पढाइमा अब्बल, प्रतिभाशाली र असाधारण क्षमतायुक्त छन् । प्रश्न उठ्छः त्यो साधारण, औसत नेपाली नागरिकको के हुन्छ ? जसको पारिवारिक अवस्था ठिकै छ, धेरै धन सम्पत्ति छैन । जो असाधारण रूपमा प्रतिभाशाली पनि छैन । जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा त यही वर्गमा पर्छ । त्यसो भए के यस देशमा उनीहरूका लागि केही पनि सम्भावना छैन ?
देशभित्र बढ्दो बेरोजगारीको डरका कारण आज धेरै प्रतिभाशाली र सक्षम युवा पनि देश छोड्न बाध्य भएका छन् । धेरैजसोले आफ्नो क्षमता देखाउने अवसरसमेत पाएका छैनन् । समाजमा प्रतिस्पर्धा यति तीव्र बनेको छ कि कहिलेकाहीँ एउटै आमाबुबाका दाजुभाइ वा दिदीबहिनीबिच पनि तुलना, देखावटीपन र वर्गीय सोच हाबी हुन थालेको छ । यस्तो सोच र मानसिकताले समाजमा आपसी घृणा जन्माउँछ । धेरै त्यस्ता व्यक्ति छन्, जो अध्ययन र क्षमताका हिसाबले योग्य छन्, देशमै सुरक्षित भविष्य नदेख्दा, पढाइ, मेहनत र योगदानको उचित सम्मान नपाउँदा, भोलिको अनिश्चितताले उनीहरूलाई देश छोड्न विवश बनाएको छ ।
हामीले बुझ्नै पर्छ, परिवर्तन भनेको निरन्तर चलिरहने प्रव्रिmया हो, जसका लागि सकारात्मक सोच, मेहनत र धैर्यता चाहिन्छ । सरकार चलाउनेहरूले विकासका योजना बनाउने, त्यसलाई जनतासम्म सुसूचित गराउने र कार्यान्वयन गर्ने हो । देश कोही एक्लो व्यक्तिले भोलि नै बदल्न सक्दैन । हामी आमनागरिकले आआफ्नो ठाउँबाट परिवर्तनका लागि आफूबाटै सुरुवात गर्नु पर्छ ।
परिवर्तन आफैँबाट सुरु गर्नु पर्छ । हामी पढेलेखेका मानिसले देशभित्रकै स्रोतसाधन प्रयोग गरी नबुझेकालाई बुझाउने हिम्मत गर्नु पर्छ । त्यो जिम्मेवारी लिनु पर्छ । चोकमा बसेर चिया–चुरोट खाँदै सरकारको विरोध गर्नु, “यो भएन, त्यो भएन” भनेर गुनासो गर्नु धेरै सजिलो छ तर त्यही चोकमा बसेर जनचेतनाको कार्यव्रmम गरेर एक–एक जनालाई बुझाउनु गाह्रो हुन्छ । हामी सधैँ अरूलाई दोष दिँदै आएका छौँ । जो आए पनि हामी उसकै खोट देख्छौँ, चोकमा बसेर हल्ला गर्छौं तर जब त्यही समस्या हाम्रो जीवनमै आइ पर्छ तब हामी आफैँलाई धिक्कार्न थाल्छौँ । देशभित्रका समस्या केवल राजनीतिक मात्र होइनन् । आर्थिक र सामाजिक समस्या त यति गहिरा छन् कि केही गर्न चाहने, अगाडि बढ्न खोज्ने व्यक्तिलाई साथ दिनुको सट्टा हामी चोकमा बसेर आलोचना गर्ने, व्यङ्ग्य गर्ने र मजाक बनाउने प्रवृत्तिमा अल्झिएका छौँ । आज हामीले सबैभन्दा गम्भीर रूपमा ध्यान दिनुपर्ने विषय भनेको ब्रेन ड्रेन हो ।
राजनीतिप्रतिको चेतना त हामीमा पहिले नै छ तर अब आवश्यकता आर्थिक र सामाजिक विकासको हो । जसरी हामी राजनीति र नेताहरूको गफ गर्छौं, अब त्यस्तै गरी देशमा के–कस्ता आर्थिक र सामाजिक काम गर्नु पर्छ भन्नेबारे छलफल गरौँ । महìवपूर्ण कुरा हामी आफैँले आफ्नो ठाउँबाट देशलाई कसरी अघि बढाउन सक्छौँ, त्यसको बाटो देखाऔँ । हामीले बुझ्नु पर्छ राजनीति वा आन्दोलन मात्र पर्याप्त छैन । समाजलाई स्वस्थ राख्न, देशको भविष्य सुरक्षित गर्न र युवालाई मार्गदर्शन गर्न मानसिक स्वास्थ्य र चेतनाको महìव बराबर हुन्छ ।
आन्दोलन पूर्ण रूपमा जेनजीकै पहलमा आयोजना गरिएको आन्दोलन थियो । यो कुनै व्यक्ति कुनै राजनीतिक दल वा कसैको प्रभावमा गरिएको आन्दोलन थिएन । आन्दोलन नेपालमा खुलेआम भइरहेको भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै गरिएको थियो । आमनेपाली जनताको गरिबीमा पारेको गहिरो प्रभावका विरुद्ध थियो । यही समाजभित्र केही उच्चस्तरीय र विशेषाधिकार प्राप्त वर्गका छोराछोरीले उच्च र विलासी जीवन बिताइरहेका हुनाले त्यही असमानता विरुद्धको आवाज पनि थियो ।
जेनजी आफ्नो देशप्रतिको माया, आफ्नो भविष्यप्रतिको चिन्ता र अन्यायविरुद्ध आवाज उठाउने साहसका कारण आन्दोलनमा सहभागी भएका थिए । यो पनि स्वीकार गर्नै पर्छ कि आन्दोलनमा सहभागी यी युवा दशकौँदेखि राजनीतिमा संलग्न अनुभवी नेता जस्तै राजनीतिक खेल, रणनीति वा भूराजनीतिक प्रभावको जटिलतामा दक्ष थिएनन् र छैनन् पनि । हामी भावनाबाट प्रेरित थियौँ; अब देशका लागि लड्नै पर्छ भन्ने दृढ सोचबाट । आन्दोलनमा हस्तक्षेप हुन सक्ने सम्भावनाबारे त लामो समयदेखि राजनीति गरिरहेका अनुभवी नेताहरूलाई राम्ररी जानकारी हुनुपर्ने हो । उनीहरूले त्यस अनुसार सुरक्षात्मक व्यवस्था र पूर्वतयारी गरेका भए, सायद यति ठुलो मानवीय तथा जनधनको क्षति हुने थिएन ।
( चिकित्सकको अनुभव)