• ३ माघ २०८२, शनिबार

श्रीमतीको हत्या आरोपित पक्राउ

blog

राजु लामिछाने

रुकुमपश्चिम, माघ ३ गते।  रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय गणेशबहादुर कामीले श्रीमती ६५ वर्षीया पम्फा कामीको टाउको र हातमा सनासोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार पम्फाको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। गणेशबहादुरले श्रीमती पम्फालाई सनासोले टाउको र हातमा हानेर घाइते बनाएपछि शुक्रवार दिउँसो साढे ४ बजेतिर बुहारी सिर्जना विकले उपचारका जिल्ला अस्पताल सल्ले ल्याएको उहाँले बताउनुभयो। 

जिल्ला अस्पतालबाट थप उपचारका लागि शुक्रबार बेलुकी साढे ७ बजेतिर नेपालगन्ज पठाइएकोमा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताउनुभयो। गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका कारण आफ्नै श्रीमती पम्फालाई कुटपिट गरेको उहाँको भनाइ छ। 

प्रहरीका अनुसार गणेशलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरू भएको छ।