गोरखापत्र अनलाइन
हेटौंडा, माघ ३ गते । मकवानपुरका महिला जनप्रतिनिधिले स्थानीय तहमा वन, वातावरण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल नेपालको संयोजनमा खाद्य तथा कृषि संगठन नेपालको आयोजनामा सम्पन्न अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी महिला नेतृत्वले वन संरक्षण, जलवायु परिवर्तन अनुकूलन र स्थानीय जीविकोपार्जनलाई एकापसमा जोडेर नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले वन, वातावरण र जलवायु परिवर्तन अहिले विकासको केन्द्रिय एजेन्डा बनेको उल्लेख गर्नुभयो । उहाँले प्रदेशसभाको विषयगत समितिमा यी विषयमा नीतिगत छलफल भइरहेको जानकारी दिँदै अब स्थानीय तहमा स्थानीय वन ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले आफ्नो पालिकाले हरेक वर्ष वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि बजेट विनियोज8न गर्दैआएको बताउनुभयो । “जलवायु परिवर्तनका असर हामीले दैनिक जीवनमै भोगिरहेका छौँ, त्यसैले स्थानीय सरकारको योजना पनि त्यसअनुसार नै हुनुपर्छ” उहाँले भन्नुभयो ।
मनहरी गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामीले मनहरी गाउँपालिकाले आम्दानीसँग जोडिएको सामुदायिक वन व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । पालिकाको सक्रियता, उपभोक्ता समूहको सहभागिता र उद्यममुखी वन व्यवस्थापनका कारण पछिल्ला वर्षहरूमा वन क्षेत्रमा आगलागीसमेत नभएको उहाँले उल्लेख गर्नुभयो ।
बकैया गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी माझीले कार्यक्रममा सहभागिताले जलवायु परिवर्तन, वन संरक्षण र प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा आफ्नो बुझाइ थप स्पष्ट भएको बताउनुभयो ।
प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जालकी अध्यक्ष आरती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका महिला तथा पुरुष जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, नवयुवा, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको निष्कर्षमा सहभागीहरूले वन र वातावरण संरक्षणलाई केवल संरक्षणको दायरामा सीमित नराखी नीति, बजेट र कार्यान्वयनको स्पष्ट खाकासहित अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।