• ३० वैशाख २०८१, आइतबार

अगाट मामिट माबेलको शव

blog

जनजाति समुदायका प्रमुख इलाई मेबल आफ्नो पुर्खा अगाट मामिट माबेलको शव देखाउँदै ।

इन्डोनेसियाको पपुआमा रहेको एक दुर्गम गाउँमा बसोबास गर्ने जनजाति समुदायका प्रमुख इलाई मेबल आफ्नो पुर्खा अगाट मामिट माबेलको शव देखाउँदै । लगभग दुई सय ५० वर्ष पहिले अगाटले त्यस समुदायको नेतृत्व गरेका थिए । डानी कबिलाका अगाटको शरीरलाई सो समुदायले धुवाँ र जनावरको तेलका मद्दतले सुरक्षित राखेका छन् ।

डानी समुदायसँग आफ्ना पूर्वजको ममी बनाउने विशेष कला छ । अगाटको शरीरलाई घाममा सुकाएपछि डानी समुदायका मानिसले शवलाई एउटा गुफामा राखे । त्यसको केही दिनमै एक हप्तादेखि महिना दिनजति शवलाई तातो धुवाँले सेकिएको थियो । त्यसरी धुवाँले सेक्नुलाई डानी समुदायले आफ्ना पूर्वजप्रतिको ठूलो सम्मान अर्पणका रूपमा लिने गर्छन् । 

शवलाई थप सुरक्षित बनाउनका लागि अगाटको शरीरभित्रको सबै तरल अनेक छिद्र बनाएर सुकाएपछि सुँगुरको बोसोले त्यसलाई ढाकिएको थियो । त्यसलगत्तै शवलाई धुवाँले सेक्ने तथा जनावरको तेल लगाउने काम गरियो । डानी समुदायका हस्ती र गन्यमान्यलाई सम्मानार्थ यसो गर्ने चलन छ । गर्भमा भ्रूण जसरी बस्दछ त्यसरी नै डानी समुदायका बासिन्दाले अगाटको ममी बनाएका छन् ।


–युवामञ्च