• १३ साउन २०८१, आइतबार

गोली भरिएका दुई थान हतियारसहित प्रतिवादी पक्राउ

blog

उदयपुरको वेलका ३ टप्पु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको फरार प्रतिवादी कुमार भन्ने जयकुमार राई र निजबाट बरामद गरिएका हतियार ।

भक्तिविलास पोखरेल

गाईघाट, बैशाख २ गते । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादीलाई गोली भरिएका दुई थान हतियारसहित उदयपुरको वेलका नगरपालिका वडा नं. ३, टप्पु क्षेत्रबाट पक्राउ गरिएको छ । 

सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिका वडा नं. ७ निवासी वर्ष ३० को कुमार भन्ने जयकुमार राईलाई इलाका प्रहरी कार्यालय राम्पुर ठोक्सिलाबाट खटिएको प्रहरी निरीक्षक सुभाष खनालसहितको प्रहरी टोलीले शनिबार बिहान टप्पु क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहनबहादुर थापाका अनुसार निज फरार प्रतिवादी वेलका नगरपालिका ३ स्थित टप्पु क्षेत्रमा लुकीछिपी बस्दै आएको भन्ने इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकबाट जानकारी प्राप्त भएपछि खोजतलास गर्दा राईलाई पक्राउ गरिएको हो ।

सो क्रममा निज फरार प्रतिवादी राईको साथबाट पाँच राउण्ड गोली भरिएका म्यागेजिनसहितको स्वचालित अत्याधुनिक पेस्तोल र भरुवा बन्दुक गरी दुई थान हतियार बरामद गरिएको प्रनि थापाले बताउनुभयो ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय राम्पुरमा राखी थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।