• १३ असोज २०८१, आइतबार

सुकेटारमा नयाँ वर्ष मनाउनेको भीड

blog

सुकेटार क्षेत्रमा नयाँ वर्ष मनाउनेहरुको भीडभाड । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, बैशाख १ गते । ताप्लेजुङको सुकेटारमा नयाँ वर्ष मनाउनेको भीड लागेको छ । सदरमुकाम फुङ्लिङबजार नजिक सुकेटारमा शुक्रबार नयाँ वर्ष मनाउनेहरुको भीड लागेको हो । खुला चौर र रमणीयस्थल भएकाले नयाँ वर्षको दिन सर्वसाधारणको भीड लागेको छ ।

पर्यटकीयस्थलका रुपमा समेत स्थापित हुँदैगएको सुकेटार क्षेत्रमा बालबालिका, किशोर किशोरी, युवा तथा वृद्धवृद्धासमेत घुमघाम गर्न र मनोरञ्जनका लागि पुगेका छन् । सुकेटार विमानस्थल, सिरेटो रिसोर्ट, हिलटोन रिसोर्ट, कालिज कटेजलगायतमा भीड लागेको थियो । त्यस्तै खुला चौरीहरु मानिसले ढाकेको थियो ।


नयाँ वर्ष मनाउनेहरु अधिकांशले खानेकुराका परिकार घरबाट नै बनाएर लगेको बताएका छन् भने केहीले सुकेटार क्षेत्रमै खानपानका परिकार बनाएर उपभोग (खाँदै) गरेको पाइएको थियो । नयाँ वर्ष मनाउनेहरु खानपान साथै गीत सङ्गीतमा रमाएका थिए ।  

सुकेटार क्षेत्र सदरमुकाम नजिक भएकाले कतिपय हिँडेर नै उक्त गन्तव्यमा पुगेका थिए । अधिकांशले निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु जिप, भ्यान, कार, मोटरसाइकल प्रयोग गरेर नयाँ वर्ष मनाउन गएका छन् । त्यस्तै, नयाँ वर्षको दिन सार्वजनिक विदा भए पनि कतिपय सरकारी नम्बरप्लेटका सवारीसाधन पनि प्रयोग गरिएको पाइएको थियो ।