• १३ असोज २०८१, आइतबार

सप्तकोशीको टापुमा फसेका २५ जना सकुशलै

blog

बाबुराम कार्की 

वराहक्षेत्र, असोज १३ गते । अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुरबारी र राजाबासको  नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालक कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ । 

बालचनखोरिया क्षेत्रमा फसेकाहरूको उद्धारको लागि नेपाली सेनाको टोली आइतबार बिहानै बोट लिएर गएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईका अनुसार नदीमा फसेका २५ जना कृषक सकुशलै  छन् । उनीहरू आफन्तको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो । नदीमा आइतबार बिहानदेखि नै पानीको बहाव घट्दै गएपछि अवस्था सहज हुँदै गएको हो । 

टापुमा फसेका वराहक्षेत्र २ का पाँच जना र वराहक्षेत्र छ ठाकुरबारी क्षेत्रका का १५ जना सकुशल रहेको प्रहरी निरीक्षक राईले बताउनु भयो । वराहक्षेत्र ९ को राजावास नदी क्षेत्रको टापुमा फसेकाहरु पनि सकुशल रहेको प्रहरीले जनाएका छ । नदीको बिच भागमा गोठ राखेर बसेका कृषकहरू डुङ्गा लिएर आफै नदी वारपार गर्दै आएका थिए । कृषकहरू टापुमा छाडा चरिचरण हुने भएकाले वर्षौँदेखि पशुको गोठ राखेर चरिचरन गर्दै आएका छन् । 

शनिवार नदीको बिच भागमा फसेका कृषकहरूको उद्धार गर्न सबै प्रयास गरिए पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको थिएन । वराहक्षेत्र नगरपालिका ६ चिलैया र ९ को टापु क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सप्तकोशी नदीको बिच भङ्गालोमा फसेका थिए । उद्धार गर्न बोट जान नसकेपछि हेलिकप्टर मगाए पनि प्रतिकूल मौसमका कारण आउन सकेको थिएन ।