• १३ असोज २०८१, आइतबार

सप्तकोशीमा पानीको बहाव घट्न थाल्यो

blog

सप्तकोशीको पुलमाथि पानी बग्न बन्द भएको अवस्था ।

धीरेन्द्रप्रसाद साह

राजविराज, असोज १३ गते । सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भइरहेको छ।

सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्तकोशीमा छ लाख ६१ हजार पाँच प्रति सेकेन्ड क्युसेक पानी बगेर ५६ वर्षपछि दोस्राे पटक उच्च रेकर्ड कायम गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ७ बजे छ लाख ५५ हजार ३७० प्रति सेकेन्ड क्युसेक पानी बगेको थियो भने बिहान ९ बजे छ लाख २८ हजार १४५ प्रति सेकेन्ड क्युसेक पानी बगिरहेको छ। सन् १९६८ सालमा कोशीमा सात लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको थियो ।