• १३ असोज २०८१, आइतबार

बागमती प्रदेशका मन्त्री र प्रदेश सचिव ४२ घण्टादेखि अलपत्र

blog

सिन्धुलीको भिमानमा निर्माण हुन लागेको अत्याधुनिक सुरक्षा जाँच चौकीको अवलोकन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असोज १३ गते ।
 सिन्धुलीमा बागमती प्रदेश सरकारको औपचारिक कार्यक्रमका लागि जानुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बाढी पहिरोका कारण सडक अवरुद्ध बनेपछि अलपत्र बन्नुभएको छ ।

सिन्धुलीमा कार्यक्रमका लागि जानुभएका मन्त्री लामिछाने र प्रदेशका सचिव पूर्णबहादुर दर्जी ४२ घण्टादेखि सिन्धुलीको नेपालथोक बजारमा अलपत्र पर्नुभएको हो ।

मन्त्री लामिछाने, प्रदेश सचिव दर्जीसहित आठ जनाको टोली काठमाडौँ जाने र सिन्धुली बजारतर्फ आउने दुवै मार्ग बाढी पहिरोले अवरुद्ध बनेपछि शनिबारबाट नेपालथोकस्थित एक होटलमा बस्दै आउनुभएको छ ।

गत बिहीबार प्रदेश सरकारले स्थापना सिन्धुलीको भिमानमा निर्माण गर्न लागेको अत्याधुनिक सुरक्षा जाँच चौकीको प्रस्तावित निर्माण स्थलको अवलोकन र स्थानीय सरोकारवालासँग छलफल शुक्रबार प्रदेश सरकारको बजेटबाट सिन्धुलीमा नै नव–निर्मित प्रहरी चौकी हर्षाहीको भवन मन्त्री लामिछानेले उद्घाटन गर्नुभएको थियो ।

मन्त्री लामिछानेले प्रहरी चौकी उद्घाटन गरी काठमाडौँ फर्कने क्रममा प्रहरीले बाढी पहिरोका कारण जोखिम रहेको भन्दै रोकेपछि आफूहरू शुक्रबारबाट नेपालथोकको होटलमा नै रहेको जानकारी दिनुभयो ।

सिन्धुली बजारतर्फ फर्कने र काठमाडौँ जाने दुवै मार्ग अवरुद्ध भएपछि आफूहरू यहाँ रहेको गृहमन्त्री, मुख्यमन्त्री, सेनाका अधिकारीलगायतका सबैलाई जानकारी गराइसकिएको छ प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका लामिछानेले भन्नुभयो तर आफूहरू ४२ घण्टादेखि अलपत्र परेको र उद्धार हुन नसक्दा गन्तव्यतर्फ जान सकेका छैनौँ ।

उहाँले अगाडि भन्नुभयो, ‘‘बिहीबार आएका थियौँ, शुक्रबार काठमाडौँ फर्कने योजनासहित गएका थियो । तर सडकका कारण आइतबारसम्म नेपालथोकमा नै अल्झिएका छौँ ।’’

उहाँले शनिबार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिन आए पनि बाढीपहिरोले सडक अवरुद्ध रहेको र निरन्तरको वर्षाका कारण जोखिम बढेपछि बिच बाटोबाटै फर्केको भन्दै नेपालथोकबाट काठमाडौँतर्फ जान धेरै ठाउँमा सडक अवरुद्ध बनेकाले असम्भव देखिएकाले सिन्धुली हुँदै हेटौँडा आउन सहज हुने भए पनि अझै उद्धारको कुनै उपाय नलागेको बताउनुभयो ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई नेपाली सेनाले हेलिकोप्टरबाट शनिबार उद्धार गरेको स्थल नजिकै रहनुभएका मन्त्रीसहितको टोली आइतबार उद्धारका लागि सेनाको टोली आउने अपेक्षामा हुनुहुन्छ ।

कुशेश्वर महादेव मन्दिर परिसरमा सेनाको टोली हेलिकोप्टरमा राहत सामग्री लिएर आउने जानकारी प्राप्त भएको भन्दै त्यसैबाट उद्धारको आशामा रहेको मन्त्री लामिछानेले बताउनुभयो ।