• १३ असोज २०८१, आइतबार

हे भगवान् ! पेट्रोल निक्लियोस्, ज्वाला ननिभोस्

blog

दैलेखको शिरस्थान मन्दिरमा बर्सौंदेखि बलिरहेको ज्वाला । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, असोज १३ गते । खोलासहित खोला छेउछाउमा बर्सौंदेखि निरन्तर फुरुरु आगोको ज्वाला बलिरहन्थ्यो । दैलेखको पञ्चकोशी क्षेत्रमा बल्ने त्यही आगोलाई स्थानीयले भगवान्को लीला नै सम्झिएर पूजाआजा गर्ने गरेका छन् । कतिपयले पाँचथान रहेको पञ्चकोशी शक्तिले इच्छा पूरा गर्ने भन्ने पनि मान्यता राख्छन् र देशका विभिन्न स्थानबाट अवलोकन र पूजाआजा गर्न आउने गरेका छन् । निरन्तर बलिरहनुको वैज्ञानिक कारण जमिनमुनि पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै खोजीका लागि ड्रिलिङको काम चलिरहँदा यहाँका स्थानीय बासिन्दा त्यही ड्रिलिङतिर हेर्दै पञ्चकोशीसँग प्रार्थना गर्दै ‘पेट्रोल निक्लियोस्, ज्वाला ननिभोस्’ भनी पुकारिरहेका छन् । 

भैरवी गाउँपालिकाका स्थानीय पण्डित तिलकप्रसाद रिजाल पेट्रोलियम पदार्थ अन्वेषण गर्ने कार्य मुलुक र दैलेखका लागि हितकर भए पनि पञ्चकोशी ज्वालालाई बचाइराख्न त्यहाँ काम गरिरहेको प्राविधिक टोली र स्थानीय सरकारका जनप्रतिनिधि लाग्नुपर्ने बताउनुहुन्छ । उहाँले पञ्चकोशी क्षेत्रमा करिब विसं १८७३ देखि धार्मिक तथा पुरातात्त्विक हिसाबले महत्वपूर्ण रहेको ज्वाला पञ्चकोशी धार्मिक एवं पर्यटकीय क्षेत्र भएको बताउनुभयो । त्यसलाई बचाइराख्न सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

२०४२ सालदेखि शिरस्थान मन्दिरका महन्थ गोकर्णनाथ योगीले चीनको प्राविधिक टोलीले शिरस्थान, नाभिस्थान, पादुका, तल्लो डुगेश्वर क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थको अन्वेषणको काम भइरहे पनि शिरस्थान र नाभिस्थान मन्दिरमा निरन्तर बलिरहेको ज्वालालाई बचाइराख्न आफूहरूले प्रार्थना गरिरहेको बताउनुभयो । उहाँले सबैको आस्थाको केन्द्र ज्वालाजीलाई केही नभई पेट्रोल निस्कनुपर्ने सुझाव दिनुभयो । 

नाभिस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले सदियौँदेखि मान्दै आएको धार्मिक, सांस्कृतिक, साम्प्रदायिक, सामाजिक आस्था कायम राखेर अन्वेषणको काम गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले स्थानीय मन्दिरका गुठियार, महन्थले ज्वाला ननिभोस् भनेर प्रार्थना गरिरहेको जानकारी पनि दिनुभयो । दैलेखको पञ्चकोशी क्षेत्रमा निरन्तर बलिरहेको ज्वालामा ग्याँस वा पेट्रोल हुन सक्ने भन्दै खानी तथा भूगर्भ विभागले पादुकामा बगेको लेदो खानी तथा भूगर्भ विभागले परीक्षण गरेको तीन दशकपछि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरेको छ । 

२०७६ फागुनमा विभाग र चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबिच अन्वेषण र उत्खनन गर्न दुई अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । त्यही सम्झौता अनुसार अन्वेषणका पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जियोकेमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ । 

खानी तथा भूगर्भ विभागले दिएको जानकारी अनुसार अहिले गरिएको अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार, प्रकार आयतन, व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनका लागि उपयुक्त छ वा छैन भन्ने पत्ता लाग्ने छ । 

खानी तथा भूगर्भ विभागका जियोलोजिस्ट प्रकाश लुइटेलले पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ६० प्रतिशत सकिएको जानकारी दिनुभयो । उहाँले असोजभित्र ड्रिलिङको काम सक्ने गरी गत जेठदेखि काम सुरु गरिएको भए पनि कडा चट्टानका कारण मङ्सिर मसान्तसम्म ड्रिलिङ कार्य सकिने गरी काम भइरहेको जनाउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले विज्ञले दुई/दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेका छन् ।” दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ । पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेको छ ।