• १२ असोज २०८१, शनिबार

पहिरोबाट माथिल्लो तामाकोशी आयोजनामा क्षति, सबै ढोका खुल्ला

blog

अविरल वर्षाका कारण आएको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजना क्षेत्रमा पुर्‍याएको क्षति । तस्बिर : नेपाल विद्युत प्राधिकरण

काठमाडौँ, असोज १२ गते । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्स)मा क्षति पुर्‍याएको छ ।

माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुल्ला गरिएको छ ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठुलो क्षति पुगेको अनुमान गरिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले विद्युत गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरूमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेको बताउनुभयो ।

गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्‍याएको अनुमान गरिएको उल्लेख गर्नुभयो । पहिरोका कारण जलाशय क्षेत्रमा ठुलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ ।

नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । 

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम नदीमा पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत गृह बन्द गर्नु पर्ने छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युसेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो ।