गोविन्द शर्मा
बाँके, पुस ११ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताउनुभएको छ ।
राष्ट्रिय बाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालको १२ औं राष्ट्रिय महाधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले नेपालमा पुराना राजनीतिक दल, नेतृत्व र मुख्य अङ्गहरुलाई कमजोर बनाउन खोजिएको टिप्पणी गर्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, “राज्यका सुरक्षा निकायलाई पनि कमजोर बनाउन बिभिन्न चलखेल र प्रयोग गरिदैछ ।” उहाँले राजनीतिक दल र नेतृत्वप्रति आम नागरिकको आक्रोशको रुपमा मात्र बुझियो भने त्यो असत्य हुने दावी गर्नुभयो । यो जनताको विद्रोह नभइ लामो तयारीपछिको षडयन्त्र भएको बताउनुभयो ।
उहाँले भदौं २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक गतिविधी कसरी भयो भनेर गहन अनुसन्धान जरुरी रहेको बताउनुभयो । २३ गतेको घटनाको आक्रोशको रुपमा २४ गते भएको हो भनेर मान्न सकिने आधार नभएको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले जेन्जीका नाममा अवकाशप्राप्त कर्मचारीले सरकारमा प्रतिनिधित्व गरेकोजस्तो एमालेको नेतृत्व नभएको टिप्पणी गर्नुभयो । महासचिव पोखरेलले पपुलिज्मले समाजको हित गर्न नसक्ने भन्दै कुनै पनि देशमा पपुलिज्म विकल्प बन्न नसक्ने दबाबी गर्नुभयो । उहाँले राजनीतिक दलहरु कहिल्यै पनि पुराना नहुने बताउनुभयो ।
महाधिवेशनको उद्घाटनअघि नेपालगञ्जमा बिहान प्रभातफेरीको आयोजना भएको थियो । उहाँले पुँजी परिचालनमा बैङ्क तथा बित्तिय संस्थाले आम नागरिकलाई बिश्वास गर्न सक्ने अवस्थामा आए मात्र देशमा विकास र समृद्धि अघि बढ्ने बताउनुभयो ।