• १२ असोज २०८१, शनिबार

पहिरोमा नेपाली सेनाका दुई जनासहित पाँच बेपत्ता

blog

अविरल वर्षाका कारण आएको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजना क्षेत्रमा पुर्‍याएको क्षति ।

सुजन काफ्ले 

चरीकोट, असोज १२ गते । माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँच जना बेपत्ता भएका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गार्ड पहिरोमा परेर बेपत्ता भएका हुन्। 

अबिरल वर्षासँगै शनिबार दिउँसो माथिको भीरबाट पहिरो खस्दा उनीहरू नियन्त्रण कक्षमा रहेका थिए । आयोजनाको हेडवक्र्स क्षेत्रमा पहिरोले क्षतिगरेको र दुई सैनिकसहित पाँचजना सम्पर्कविहीन भएको आयोजनाले जनाएको छ । पहिरोले हेडवक्र्स क्षेत्रका संरचनाहरु क्षति गरेको छ ।  घटनास्थलसम्म सुरक्षाकर्मी पठाइसकेको प्रहरिले जनाएको छ ।

पहिरोले बाँधस्थलनजिकै नियन्त्रण कक्ष रहेको दुईतले घर पुरेको छ भने बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट) मा पनि ठूलो क्षति पुर्याएको छ। पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुप्रिएको छ।

जलासयमा पानीको बहाव उच्च भएपछि माथिल्लो तामाकोशी आयोजनाको विद्युत उत्पादनसमेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरु खुला गरिएका छन् ।  

आयोजनाले  नेपाली सेनालाई पत्रचार गर्दै उद्धारको लागि अनुरोध गरेको छ। हेलिकोप्टर या अन्य उपायबाट उद्धारका लागि परियोजनाले अनुरोध गरेको हो । परियोजनाले जारी गरेको पत्रमा उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च परियोजनाले नै व्यहोर्ने पनि उल्लेख छ।