हुम्ला, चैत ३० गते । श्रीमानको कुटाई बाट एक जना तीन महिनाकी सुत्केरी महिलाको दायाँ हात भाँचिएको छ । बनमा दाउरा टिपेर घर फर्केकी श्रीमतीसँग विवाद भएपछि श्रीमानले लात्तीले हान्दा भुईँमा बजारिदा हात भाँचिएको हो ।
सिमकोट गाउँपालिका–६ की जाल सुनारलाई श्रीमानले पिट्दा हात भाँचिएको हो । सुनारलाई श्रीमान् सुरेन्द्र सुनारले सामान्य विवाद हुँदा लात्तीले शरीरमा हिर्काएपछि उहाँको हात भाँचिएको हो । श्रीमती सुनारले बिहानको खाना खाएर घरका लागि आवश्यक पर्ने दाउरा टिप्न बनमा गएको विषयलाई लिएर श्रीमानले कुटेको बताउनुभयो । उहाँले श्रीमानले लात्तीले आफ्नो शरीरमा हाल्न आफू भुईँमा बजारिएको र ढुङ्गामा ठोकिएर दायाँ हात भाँचिएको बताउनुभयो । तीन महिनाकी सुत्केरी महिलालाई श्रीमानले कुटेर भाँचिएको हातको उपचार अस्पतालमा पनि गरिएको छैन ।
भाँचिएको हातलाई मानिसले स्थानीय प्रविधिको काठ बनाएर बाँधिएको छ । उहाँको हात दुखेर नवजात शिशुलाई दूध खुवाउन सक्ने अवस्था रहेको छैन । हातको उपचार कस्तो हुने हो त्यो पनि अहिले भन्न नसकिने अवस्था रहेको छ । उहाँ हात भाँचिएपछि सिमकोट गाउँपालिका– ३ को बर गाउँमा रहेको माइती घरमा बस्दै आउनु भएको छ ।
उहाँले शरीरमा चोट लागेपछि प्रहरीलाई उजुरी नगरेर गाउँपालिकाको न्यायिक समितिमा उजुरी हाल्नु भएको छ । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समितिको संयोजक सुशीला रोकाया भामले दुई पक्ष बसालेर छलफल गर्ने र दोषीलाई कारबाही अगाडी बढाउने बताउनुभयो ।
संयोजक रोकायाले घरेलु तथा महिला हिंसाका घटना दैनिक बढी रहेको र त्यसलाई न्यूनीकरण गर्नका लागि आफूले पहल गर्ने बताउनुभयो ।