• १३ साउन २०८१, आइतबार

सङ्घीयतापछि विकट स्थानमा सडक

विकट हरिनाशमा सडक निर्माण, धमाधम कालोपत्रे हुँदै

blog

मिर्दी–क्याक्मी–भिमाद सडकको कालोपत्रे । अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, चैत २७ गते । देश सङ्घीय संरचनामा गएपछि देशका अति विकट स्थानमा पनि विकास निर्माणका कामले गति लिएको छ । छ वर्ष पहिला गोरेटोबाटोको प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकाले सडक निर्माणमा फड्को मारेको छ । 

जिल्लाको विकट पालिका मध्येको हरिनाशमा पाँच वटा सडक योजना मार्फत एकै चोटि ३३ दशमलव ५ किलोमिटर कालोपत्रे हुन थालेको हो । पालिकाको कार्यालय रहेको चुलिडाँडालाई जोड्ने गरी सडक कालोपत्रेको कामले तीव्रता पाएको हो ।

यहाँ मिर्दी–क्याक्मी–भिमाद खण्ड (राते पहाडदेखि चित्रे हुँदै गिरकोट) १० किमीमा मध्ये सात किमी र दुलेगौडाँ हुँदै ढोर बराही–जुगिफाट–चिसापानी सडक १६ किमी मध्ये १३ किमी हरिनाशमा पर्ने सडक पूर्वाधार विकास कार्यालय, स्याङ्जाले काम अगाडि बढाएको हो । 

यस्तै, नौ किमी हरिनाशमा पर्ने घुम्ती चिसापानी हुँदै चित्रे सडकको काउले खुदी सालडाँडा खण्ड सडक डिभिजन कार्यालय पोखराले र दग्दीदेखि कुलुङखोला हुँदै दोभान सम्म पाँच किमी कालोपत्रेको काम पालिकाले अगाडि बढाएको हो । 

तनहुँको अरुणोदयबाट सुरु भएको मिर्दी–क्याक्मी–भिमाद सडक २९ करोड ८० लाख ४१ हजार ६६४ रुपियाँ ४२ पैसा ओयसिस इन्जिनियरिङ एण्ड बुइल्डर्स प्राइभेट लिमिटेड काठमाडौँले काम गरेको हो । साढे दुई वर्षमा सवा सात मिटर चौडाइको बाटो कालोपत्रे गर्ने गरी २०७६ मङ्सिर ८ गते निर्माण कम्पनीले सम्झौता गरेको थियो । 

समयमै काम नसकेपछि ओयसिसले आगामी वैशाख ३० गते सम्म म्याद थप गरेको र  काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । 

यस्तै, दुलेगौडाँ हुँदै ढोरबराही–जुगिफाट–चिसापानी सडक गोल्डेन गुड/बानियाँ जेभि हेटौँडाले २०७७ जेठ १५ सम्झौता गरेर काम अगाडि बढाएको हो । प्रदेश सरकाको गाउँपालिका जोड्ने कार्यक्रम अन्तर्गत शाँखे हुँदै चुलिडाँडा पुग्ने सडक ३२ करोड ६५ लाख ४७ हजार १४९ रुपियाँ ७० पैसामा काम भइरहेको अर्यालले बताउनुभयो । उहाँले दुई वर्षमा काम सक्ने सम्झौता गरेकोमा एक वर्ष समय थप गरेर काम अगाडि बढाएको र आगामी जेठ ७ गते सम्म समय रहेको र ५५ प्रतिशत काम प्रगति रहेको बताउनुभयो ।

यस्तै, निर्वाचन क्षेत्र सडक कार्यक्रम अन्तर्गत घुम्ती चिसापानी हुँदै चित्रे सडक १८ करोड ८४ लाख ५० हजार १८० रुपियाँमा टुण्डी आरएस जेभिले २०७९ असार १९ गते २७ महिनामा काम सक्ने गरी सम्झौता गरेर काम अगाडि बढाएको हो । अस्पाल्ट प्रिमिक्स कालोपत्रे गर्ने गरी काम अगाडि बढेकोमा आठ महिनामा ३० प्रतिशत प्रगति भएको सडक डिभिजन पोखराले जनाएको छ । 

दग्दी –दोभान सडकको पाँच किमी मध्ये एक खण्ड तीन करोड २३ लाख २१ हजार रुपियाँमा चाम्पेस्वर सिमरन जेभि काठमाडौं, एक खण्ड तीन करोड ५३ लाख २२ हजार रुपियाँमा पराजुली कन्स्ट्रक्सन लम्जुङले काम गरेको छ भने डेढ किमी कालोपत्रे गर्ने गरी एक खण्ड टेण्डर पालिकाले गरेको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो । 

पालिकामा आगामी दुई वर्ष भित्र सबै वडा र सबै गाउँमा कालोपत्रे सडक पुग्ने गरी काम बढाएको मानन्धरले बताउनुभयो ।