लक्ष्मण पौडेल
भैरहवा, चैत २७ गते । रुपन्देहीमा सडक बिस्तार र स्तरोन्नतिसँगै दुर्घटनाको सङ्ख्या पनि बढेको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना र मृतकको सङ्ख्यामा भने न्यूनीकरण हुन सकेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कअनुसार रुपन्देहीमा आर्थिक वर्ष २०७७÷०७८ मा १६२ वटा दुर्घटना भएकोमा ८२ जनाको मृत्यु र १८४ जना घाइते भएका थिए ।
घाइतेमध्ये १०५ जना पुरुष र ११ जना महिला गरी ११६ जना गम्भीर घाइते भएका थिए । यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाको मृत्यु भएको थियो । २३० जना घाइतेमध्ये १३७ जना पुरुष र ३४ जना महिला गरी १७१ जना गम्भीर घाइते भएका थिए ।
पछिल्लो दुई वर्षमा दुर्घटनामा कमी आए पनि मृतक र गम्भीर घाइतेको सङ्ख्या भने बढ्दो छ । चालु आर्थिक वर्षको छ महिनामा रुपन्देहीमा ८५ वटा दुर्घटना भएको छ, जसबाट ४४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भीर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा सवारी दुर्घटना पनि बढ्दो छ । यस अवधिमा भएको दुर्घटनामध्ये सबैभन्दा तीव्र गतिको कारणले दुर्घटना भएको छ, यस्तै चालकको लापरबाही र यात्रुको गल्तीले पनि केही दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक साकारराज पन्तका अनुसार रुपन्देहीमा सबैभन्दा बढी दुर्घटना सिद्धार्थ राजमार्गको तिलोत्तमा नगरपालिकाको सडक खण्डमा भएका छन् ।
पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सीमित बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको अवस्था, मौसमको कारण र हरेक वर्ष सवारी साधनको सङ्ख्या वृद्धि हुँदै जानुले दुर्घटना बढ्दै गएको छ ।
प्रहरीका अनुसार दुर्घटना तथा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल विस्तारसँगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु, चालकको लापरबाही, तीव्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढेको हो ।
सवारी दुर्घटनाहरूमा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । सडक दुर्घटनालाई कम गराउन राजमार्गलाई वान वे गराई निश्चित लेनमा निश्चित गतिमा सवारी हाँक्ने मापदण्ड अनिवार्य लागू गर्नुपर्छ ।
सडकको बीचमा डिभाइडर र छेउमा मान्छे छिर्न नमिल्ने बारहरू व्यवस्थापन गरेर अवरोधहरूलाई हटाउन सके अघिल्लो भागबाट ठोक्किएर हुने दुर्घटना र तीव्र गतिबाट हुने दुर्घटना रोक्न सकिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नियम विपरीत सवारी चलाउनेलाई कारबाही पनि गर्ने गरेको छ । रुपन्देहीमा पछिल्लो तीन वर्षमा कारबाही हुनेको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २२ हजार २३७ सवारीसाधनलाई कारबाही गरेर एक करोड ८० लाख जरिवाना बुझेको छ ।
यस्तै, आर्थिक २०७७/०७८ मा यो सङ्ख्यामा वृद्धि भई ५८ हजार १८४ सवारीसाधनलाई कारबाही गर्दा पाँच करोड ७३ लाख राजस्व जरिवाना स्वरूप सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७८/०७९ मा ६५ हजार ९५० वटा सवारीसाधनलाई कारबाही गर्दा ६ करोड ९१ लाख राजस्व सङ्कलन भएको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म पनि कार्यालयले २२ हजार २५० सवारीसाधनलाई कारबाही गरेर दुई करोड १३ लाख रुपियाँ राजस्व जरिवाना बापत सङ्कलन गरिसकेको छ ।