• ८ मंसिर २०८१, शनिबार

मनलाई फकाउँदैछु म (कविता)

blog

बाढी टल्कँदै बगेका छन् किरणहरू पहिरोमा

क्या सुन्दर अक्षरहरू छङछङाउँथे सङ्लो नदीझैँ !

बग्दै कल्कलाउँथे चैतन्यमय भुल्काहरू 

सत्यका लहर र छालहरू उराल्दै !

ती ‘उहिलेका कुरा’ भए

जमना फेरिएको छ

सत्य ‘रूप’ बदलिरहन्छ हेलिएर समयसँगै

कोलाहलको ज्यालामा डढेका छन् किरणहरू

ती ज्वालामुक्त भए भने

रमाउँदै खेल्ने थिए फूल र पुतलीहरूझैँ उद्यानहरूमा

मनलाई फकाउँदैछु म । 

आँखा र मन दुवैलाई पु¥याएर पारीका बिरौटाहरूमा

अड्याएको छु कान्लाको आडैमा केहीबेरलाई

यता छेवैमा छरिँदैछन् झिल्काहरू 

बग्रेल्ती आँगनमा पटका बाले झँै

क्या रमिता छ उन्मत्त ध्वनिहरूको !

झुल्किँदैछन् सम्झनामा पुराना झझल्काहरू

घरको खोपामा जतनले राखेको एउटा पुरानो कागजलाई

कतै खोसेर उडायो कि बतासले !

कतै अनायास जलाइदियो कि निर्दयी किरणले

बात मार्दैछु आफ्नै मनसँग–

पालीमा बसेर उही कागज सुम्सुम्याउँदै गुन्गुनाउँला

देउराली उक्लिँदा उही कागजको भाखा हालाँैला

मनलाई फकाउँदैछु म । 

छिनछिनमा माथि हेर्दैछु खुला आकाशमण्डलमा

ओहो ! कहाँ बतासिएका होलान् 

चौदिशा भेट्नाबिहीन पातहरू !

जरा, बोट सुकेर ती एकएक गर्दै चुँडिएका छन् !

खेलाउँदै गरेका सुनौला तीरहरूले आफैँलाई घाइते पारेर

आफ्नै अन्तःस्करणको डाह मेट्न 

व्योमारोहण गरे हुन् पातहरूले !

तिनलाई पछ्याउँदै दौडेका आँखाहरू ओर्लिएर

ठोक्किएका छन् छानामा टल्केको शीताग्निमा

तिर्खाएको छ आँत

शीताग्नि भेल सङ्लिएर तिर्खा मेट्न कहिले पाइएला !

मनलाई फकाउँदैछु म ।