गद्य कविताका अनुरागी सचेत पाठक हृदयमा स्वतःस्पूmर्त खुल्दुली जन्माएर तरङ्गित बनाउने बडो पृथक् शीर्षकमार्पmत जन्माएको गद्य कविता सङ्ग्रह हो– ‘नदी बग्दैन’ । प्रस्तुत अमर काव्यपुञ्जका काव्यकार हुनुहुन्छ चर्चित कवि श्याम रिमाल । सपेराले साँपलाई द्रष्टा आँखामा जादुगरी चमत्कार खेल देखाएजस्तै बडो नवीन एवं पृथक् शैलीमा काव्य रचनाहरू प्रस्तुत गर्नुभएको छ कवि रिमालले । गद्य कविताका वर्तमान प्रतिनिधि कवि रिमाललाई गनिएका कवि शिल्पकार हुनुहुन्छ भनी चिनाउनु जरुरी छैन । प्रौढ परिपक्व उमेरले नेटो नकाटेको लेखकीय मापनलाई सहजै चुनौती दिन्छ ।
खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै पेसा व्यवसायले राससमा संलग्न भए पनि तुफान बेगमा कुदेका ‘नदी बग्दैन’ कविता सङ्ग्रहभित्रको ‘हिमालसँग एकछिन’ शीर्षकमा समेटिएको कवि रिमालको प्रस्तुत काव्य हरफ नै त्यसको उदाहरण हो –
मैले हिउँको शोकगीत रचेको छु
मैले त्यसको नमिठो धुन सुनेको छु
मैले हिमालको मृतनृत्य हेरेको छु
मलाई पर्वत, पहाडको व्यथा नकह ।
तीन खण्डमा विभाजित ‘नदी बग्दैन’ कविता सङ्ग्रहमा विविध व्यञ्जन बान्कीका डेढ सयभन्दा बढी शीर्षकका कविता समेटिएका छन् । जीवन र जगत् पहिलो खण्डमा भगवान्, असार, कुहिराको काग, एक्लोयात्री, नीलकण्ठ, एउटा रोगी देशको नाममा, हिउँदको याम, चिडियाखानालगायत १२९ वटा कविताहरू समावेश छन् । ‘नदी बग्दैन’ समुच्च शीर्षकभित्रको पहिलो खण्डअन्तर्गतकै दसौँ शीर्षकको भाग्यमानी कविता हो । प्रस्तुत शीर्षकमा कविले नदीलाई विम्ब बनाउँदै आजको मान्छेको अस्थिर, चञ्चले र तत्कालै प्रतिफल खोज्ने साधनाबिनाको बुख्याँचा कवि पात्रमा धज्जी उडाउनु भएको छ । वर्तमान व्यस्त मान्छे नियमित निद्राको सपनाबाट अघाएको मात्र होइन, विश्व शान्तिको प्रस्तावलाई निरर्थक अर्थ लगाएर हिंसामा सुरक्षा खोज्ने आडम्बरी अर्घेल्याइँप्रति कविले यसरी दिग्दारी पोख्नु हुन्छ–
नदी बग्दैन, हावा चल्दैन
चल्छ, बग्छ त उत्तेजित समाचारहरू
त्यही आडम्बरी भ्रममा आनन्द लिन्छ पेटभर मान्छे ।
दोस्रो त्रिशूली तीर्थादि खण्डमा त्रिशूली १, गाउँ भेट्दै, झिल्टुङ, नीलकण्ठ, त्रिशूली २, ककनी ः पिउँ कि तनतनी, दुप्चेश्वरलगायत डेढ दर्जन आफ्नै जिल्ला नुवाकोटका कवितामा केन्द्रित भई फुक्काफाल बनेर रमाउनुभएको छ कवि । आपूm जन्मेको प्राणभन्दा प्यारो जिल्लाप्रतिको अपार ममतालाई विभिन्न दृष्टिकोणले सम्बोधन गरेर जन्मभूमिको ऋणबाट मुक्त बन्नुभएको छ कवि । यसैगरी तेस्रो खण्डमा कविले जेन र सुक्ति शीर्षकअन्तर्गत छोटा छोटा तर पेचिला व्यङ्ग्य कविताहरू समेट्नु भएको छ । मिथ्या दर्शन, चरित्र नायकको खोजी चिन्तन, चैन, त्रास, अतृप्त चाहना, चराको चिरबिरलगायत दर्जनौँ कविता बडो पृथक् शैलीमा डोलिएर प्रस्तुत भएका छन् । आजको मान्छेको लोभी, मगन्ते, खञ्चुवा, जयभुडी, दरिद्र प्रवृत्तिलाई नाङ्गेझारमा पर्दाफास गर्नुभएको छ कविले । यसरी २०६१ सालदेखि २०७५ सम्म १५ वर्षको अन्तरालका कविताले संयुक्त स्वादिलो व्यञ्जन परिकार हो कवि रिमालको प्रस्तुत काव्य कोसेली । तथापि एउटा काँडा बिझ्दा गीत सङ्ग्रह २०४८, त्रिशूलीको किनारबाट कविता सङ्ग्रह २०६६ र बारपाक कम्पकाव्य २०७४ पछिको चौथो मौलिक काव्य कृति हो– ‘नदी बग्दैन’ ।
मूलतः श्याम रिमाल जिम्मेवार पत्रकार हुनुहुन्छ । तथापि मानवीय दुःखपीडा, समाजको रूढिवादी खण्डित संस्कारबाट पिल्सिएका दीनदुःखी निम्न वर्गीय पात्रका केस्राकेस्रा एकएक गरेर केलाउनु भएको छ कविले । सूक्ष्म विषयलाई थुँगा–थुँगाको संयुक्त मालमा उनेर सिङ्गो काव्य पस्किन सफल मात्र होइन, प्राणभन्दा प्यारो जन्मस्थल नुवकोटलाई सम्झिएर आमपाठक तथा कविहरूलाई आफ्नो जिल्ला, गाउँ र वृद्ध बाबुआमाप्रतिको दायित्व पूरा गर्न झक्झकाउनु भएको छ । समालोचक एवं कवि श्यामलको भूमिकामार्पmत कविताको अन्तर्य अथ्र्याइएको छ । उहाँले लेख्नुभएको छ, ‘लामो समयदेखि साधनारत कवि श्याम रिमालको यस सङ्ग्रहले उहाँको अनुभव सँगसँगै सङ्लिँदै गएको उहाँको दृष्टिकोण र प्रौढता देखाउनेछ । कवितामा सूक्ष्मताले गहिरो प्रभाव उत्पन्न गर्ने क्षमता हासिल गर्छ । उनी स्थूलबाट सूक्ष्मतिर प्रवेश गर्दैछन् ।’ प्रकाशक नन्दऋषि न्यौपानेको मन्तव्यले कविताको भावलाई चिरफार गरेको छ ।
मान्छे आफ्नो भाग्यको स्वयं निर्माता हो तर आफैँभित्रको देवत्व चिन्न नसकेर भगवान्को शरण पर्ने मानिसको भ्रमप्रति सुरु कवितामै व्यङ्ग्य गर्दै सही गोरेटो चिनेर हिँड्न हौसाएको मात्र कहाँ हो र ? विकसित राष्ट्रद्वारा उद्योगमार्फत उत्पादित कार्बनको असरले वायुमण्डलमा परेको नकारात्मक प्रभाव, आफ्नै देशको युवापुस्ता पलायनले कृषि उत्पादन रित्तिनुको साथै गाउँ सुनसान बनेको बडो दारुणिक कथा कवितामार्पmत कविले अभिव्यक्त गर्नुभएको छ । निडर र स्पष्टवादी कवि श्याम रिमाल पत्रकारिता र वैचारिक पहिचानसहित भावी दिनमा पनि यसरी नै कवितामार्पmत बगिरहून् ।
आकर्षक आवरण सज्जासहित २२६+२४ पृष्ठमा पुस्तक समेटिएको छ । ३५०/– रुपियाँ यसको मूल्य तोकिएको छ । ‘नदी बग्दैन’ का काव्य स्रष्टा श्याम रिमालको मौलिक गद्य कविता सङ्ग्रह सङ्ग्रहणीय, पठनीय र बौद्धिक खुराकको व्यञ्जन हो भन्न सकिन्छ ।