नवलपरासी समाचारदाता
कावासोती, पुस ६ गते । यस वर्षको सूर्यभक्त–पतनादेवी स्मृति वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ । ३३ हजार ३३३ रुपियाँ नगद राशि र सम्मानपत्रसहित वरिष्ठ व्यङ्ग्यकार वात्स्यायनलाई गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पुरस्कार हस्तान्तरण गर्नुभयो ।
त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा त्रिवेणी गोराबी कला पुरस्कार चितवनका चित्रकार लालकाजी लामालाई २५ हजार नगद राशिसहित सम्मानपत्र र १५ हजार नगद राशिको त्रिवेणी होमनाथ–भगवती कला–वाङ्मय पुरस्कार पोखराका वरिष्ठ चित्रकार गोपाल श्रेष्ठलाई प्रदान गरिएको छ । प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता स्व. सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतना देवी अधिकारीको स्मृतिमा मृत्युपर्यन्त उहाँका छोरा नगरप्रमुख अधिकारीले सूर्यभक्त पतनादेवी स्मृति वाङ्मय पुरस्कारको स्थापना गर्नुभएको हो ।