• २७ चैत २०८२, शुक्रबार

बजारमै खुकुरी प्रहार गरी हत्या, दुई पक्राउ

अंश विवादमा सिर्जनाको हत्या : दुई आरोपित सार्वजनिक

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत २७ गते । कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि खुँडा प्रहार भएको हो । प्रहारलगत्तै उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

पोखरा–९, पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आउनुभएकी एकल महिला सिर्जनाका श्रीमान् कृष्ण केसीको तीन वर्षअघि निधन भएको थियो । उहाँहरूका चार वर्षीया एक छोरी हुनुहुन्छ । श्रीमान्‌काे मृत्युपश्चात् सुरु भएको पारिवारिक कलह र अंश मुद्दाको विवादकै कारण सिर्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हत्या अभियोगमा प्रहरीले २७ वर्षीय शिशिर केसी र पोखरा–१७, रातोपहिरो बस्ने ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । मुख्य अभियुक्त शिशिरलाई रूपन्देहीको बुटवल–२, मनकामना टोलबाट नियन्त्रणमा लिइएको हो । पर्वतको कुश्मा–११ घर भई पोखरा–६ बस्ने शिशिरले परियारसँग मिलेर हत्या गरेको स्वीकार गरी सकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अभियुक्त शिशिर यसअघि पनि लागु औषध, अभद्र व्यवहार र चोरी मुद्दामा पटक–पटक हिरासतमा परेका व्यक्ति हुन् । अर्का अभियुक्त परियार पनि लागु औषध मुद्दामा दुई पटक सजाय काटिसकेका व्यक्ति हुन् । हत्यापछि शिशिरलाई मोटरसाइकलमा राखेर भगाउने चालकको भने खोजी भइरहेको छ ।

कृष्णकी जेठी श्रीमतीतर्फका सन्तानसँग सिर्जनाको पारिवारिक विवाद रहेको र सोही कारण यो घटना भएको प्रहरीको ठम्याइ छ । सिर्जनाले परिवारविरुद्ध दायर गरेको अंश मुद्दा अहिले पनि जिल्ला अदालत कास्कीमा विचाराधीन छ । प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “घटनामा अन्य मतियार वा सहयोगीको संलग्नता भए/नभएकोबारे अनुसन्धान जारी छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाइने छ ।”