गोरखापत्र अनलाइन
काठमाडौं, चैत २४ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी रहेको बताउनु भएको छ ।
उहाँले जङ्गी अड्डाको निरीक्षण भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, ‘‘राष्ट्रको माटो, राष्ट्रिय एकता, स्वाधीनतासँग जोडिएको मन्त्रालय र अन्तर्गतका संस्थाहरुको महत्व अनुरुप आफ्नो रोजाइकै मन्त्रालयमा नियुक्त भई कार्य गर्न पाउँदा ज्यादै खुशी लागेको छ ।’’
रक्षामन्त्री खड्काले सदैव नेपाली जनताको शीर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था नेपाली सेना आफ्नो भूमिका निर्वाहमा सदैव अब्बल रहन सकेकोमा बधाई ज्ञापन गर्नुभयो ।
उपप्रधानमन्त्री खड्काले जनताको आशा र विश्वास जगाउन रक्षा मन्त्रालय तथा नेपाली सेना मिलेर पारिवारिक परिवेशमा कार्य गर्दै जाँदा आशातीत उपलब्धि हुने हुँदा नेपाली सेनालाई कार्य सम्पादनमा मन्त्रालयबाट पूर्णरुपमा साथ र सहयोग रहने बताउनुभयो।
संसारका मानिसले नेपाली सेनाको विश्व शान्ति स्थापना प्रयासमार्फत नेपाललाई चिन्ने वातावरण बनेको बताउँदै उहाँले रक्षामन्त्रीले वर्षौंंदेखि नेपाली सेनाले विकास निर्माणका कार्यहरुमा संलग्न रहेको चर्चा गर्नुभयो ।
उहाँले देशका दुर्गमस्थललाई सडक सञ्जालमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सेनाले विभिन्न समयमा विभिन्न प्रकारका विपद् प्रतिकार्य तथा कोभिड महामारीको दौरान आफ्नो जीवनलाई हत्केलामा राखेर नागरिकको उद्धारमा सदैव खट्टिई जनजनको मनमा बस्न सफल रहेको बताउनुभयो ।
सम्बोधनकै क्रममा उपप्रधानमन्त्री खड्काले पर्यावरण संरक्षणमार्फत वातावरणीय असन्तुलनलाई सम्बोधन गरेर विश्व मानव समुदायलाई नै नेपाली सेनाले देन दिएको चर्चा गर्नुभयो ।
नेपाली सेनाले मित्रराष्ट्रका सैनिक संगठनहरुसँग कायम गरेको अद्वितीय, ऐतिहासिक सु–सम्बन्धका कारण देशले विभिन्न प्रकारका विपद् तथा महामारीमा कठिनाइ भोगेका बेला समस्या समाधान गर्न सकेको प्रसंग उल्लेख गर्दै नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले नेपाली सेनाका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धि देशको गौरवसँग जोडिएको एवं सैनिक खेलाडीले उत्कृष्ट खेल क्षमता प्रदर्शन गरेर प्रतियोगिता जित्ने तथा उच्च अनुशासन प्रदर्शन गरेर प्रतिस्पर्धी एवं दर्शकको मन जित्ने गरेको आफूले पाएको सुनाउनुभयो ।
उहाँले नेपाली सेनाको सर्वोपरि पेशागत दक्षताप्रति आफूलाई गर्व रहेको बताउनु भयो । निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सुरक्षा सम्बन्धी अध्ययन,अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारका क्षेत्रमा धरोहर हुने भएकाले यथाशीघ्र यसको भौतिक संरचना निर्माण सम्पन्न गरेर संचालन गर्न सरकार र आफ्नोतर्फबाट सदैव सहयोग हुने कुरा बताउनुभयो ।
बहुचर्चित राष्ट्रिय गौरवको काठमाडौं तराई–मधेश द्रुतमार्ग आयोजनासँग जोडिएका नीतिगत, प्रक्रियागत समस्याहरुको समाधान गर्नेतर्फ प्रयासहरु भइरहेको र उक्त आयोजनाको कार्य छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने बताउनु भयो ।
साथै, उहाँले जनतासँगको निकटता र नागरिक मैत्री हुनु नै नेपाली सेनाको विशेषता रहेको र यो नै साँचो अर्थमा लोकतान्त्रिकरण भएको कुरा उल्लेख गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
रक्षामन्त्री खड्काले चेन अफ कमाण्ड, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ हो भन्नु हुँदै यसलाई पालना गर्न सकलदर्जा प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई बधाई ज्ञापन गर्नु हुँदै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गर्नुभयो ।
उहाँले नेपाली सेना संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा नेपाल सरकारबाट विशेष परिस्थितिहरुमा निर्दिष्ट गरिने कानून बमोजिमका अतिरिक्त जिम्मेवारीहरु वहन गर्न सदैव तत्पर रहेको बताउनुभयो ।
उहाँले बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौतीहरु र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्नसक्ने सम्भावित प्रभावको प्रतिकारका लागि नेपाली सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको जानकारी पनि गराउनु भयो ।
यस्तै, रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाको समग्र क्षमता विकास लगायत विद्यमान कठिनाइहरु समाधानमा रक्षामन्त्रीबाट जिम्मेवारी सम्हाले लगत्तै चासो तथा महत्वका साथ निर्देशनहरु प्राप्त भइरहेको बताउनु भयो ।