• ४ असार २०८१, मङ्गलबार

रियलसँग बार्सिलोना स्तब्ध

blog

बार्सिलोनाविरुद्ध गोल गर्दै करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौं, चैत २३ गते । रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको ‘एल क्लासिको’ भिडन्तमा रियलले बार्सिलोनालाई उसैको मैदानमा ४–० गोलले हरायो ।

रियलले समग्रमा ४–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । अघिल्लो लेगमा रियल बार्सिलोनासँग १–० गोलले पराजित भएको थियो । यससँगै रियलले दुई साताअघि स्पेनिस ला लिगामा खेपेको हारको बदला समेत लिएको छ । 

रियलको जितमा कप्तान करिब बेन्जेमाले ह्याट्रिक पूरा गर्नुभयो । अर्को गोल भिनिसियस जुनियरले गर्नु भएको थियो । बार्सिलोनाविरुद्ध खरो उत्रिएका रियलले पहिलो हाफको इन्जुरी समयमा खाता खोलेको थियो । भिनिसियस जुनियरले गोल गर्दै रियलको उत्साह जगाउनुभयो ।

त्यसपछि बेन्जेमाले ५०औँ, ५८औँ र ८०औँ मिनेटमा गोल गर्दै रियललाई सानदार जित दिलाउनुभयो । बेन्जेमाको यो साता रियलमा लगातार दोस्रो ह्याट्रिक हो । गत आइतबार मात्र ला लिगामा बेन्जेमाले रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गर्नुभएको थियो ।

उक्त खेलमा रियल म्याड्रिडले भालाडोलिडलाई ६–० गोलले हराएको थियो । अब कोपा डेल रेको फाइनलमा रियलले ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी