वसन्त पराजुली
भरतपुर, चैत २३ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको दाबी गर्नुभएको छ ।
भरतपुरमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले देशको राजनीति प्रतिमगनतर्फ उन्मुख भएकाले राष्ट्रियतामा गम्भीर खतरा बढेको टिप्पणी समेत गर्नुभयो ।
“राष्ट्र र राष्ट्रियताको विषयमा हामीले गम्भीर भएर आवाज उठाउँदै आएको तर पनि प्रतिगमनकारीहरुले अहिले टाउको उठाइरहेका छन्”, उहाँको थप भनाई थियो, “देशमा अहिले पनि गणतन्त्रको आवश्यकता छ ।”
उहाँले गणतन्त्र बचाउन सत्ता गठवन्धनको आवश्यकता अहिले पनि उत्तिकै रहेको उल्लेख गर्दै वैशाख १० गते चितवनको क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्र र राष्ट्रियताको रक्षाका लागि आफ्नो पार्टीका उम्मेदवारलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
“राष्ट्रियता र स्वाधीनताका लागि जनमोर्चाले उम्मेदवारी दिएको हो त्यसका लागि पनि हाम्रा उम्मेदवारलाई मतदान गर्नुस् ।” उहाँले भन्नुभयो ।
चितवन २ मा राष्ट्रिय जनमोर्चाले आफ्नो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएको छ ।
नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताउनुहुँदै उहाँले अमेरिकी साम्राज्यवादको आफूहरु विरोधी अभियानमै रहेको उल्लेख गर्नुभयो ।