• २७ वैशाख २०८२, शनिबार

कोशी प्रदेश नामकरण : पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय

blog

नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकमा उपस्थित पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, चैत २२ गते। नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ। 

पार्टी निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनुभयो। 

उहाँले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिनुभयो। त्यसै आन्दोलनको क्रममा निधन भएकालाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘बैठकले तीन वटा निर्णयहरु गरेको छ। एउटा, पूर्वमा कोशी प्रदेश नामाकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ। पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्ने कुरा राख्ने भएका छौं। आन्दोलनको क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ।’’ 

बैठकले मिटरब्याजी पीडितको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने निर्णय गरेको छ। सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीबारसम्म पूर्णता पाउने बताउनुभयो।