• ९ मंसिर २०८१, आइतबार

विश्वकप छनोट खेल्ने नौ टोली तय

blog

नेपाली क्रिकेट टोली । फाइल तस्बिर

काठमाडौं, चैत २२ गते । जिम्बाबेमा आगामी जुन जुलाईमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेलका लागि १० मध्ये नौ टोलीको तय भएको छ ।

जुन १८ तारिखबाट सुरु हुने छनोटका लागि श्रीलङ्का, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकाले स्थान पक्का गरेका हुन् ।

यस्तै छनोटका लागि आइसिसी विश्वकप लिग–२ को विजेता स्कटल्यान्ड, उपविजेता ओमान र तेस्रो भएको नेपालले यसअघिनै स्थान पक्का गरेका थिए । 

श्रीलङ्का, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्सले आइसिसी सुपर लिगको पुछारमा रहँदै विश्वकप छनोटमा स्थान बनाएका हुन् । अब सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक टोलीले स्थान बनाउनेछ । 

अमेरिका र युएईले लिग–२ को प्लेअफबाट विश्वकप छनोटमा स्थान बनाएका हुन् । प्लेअफमा युएईले जर्सीविरुद्ध खेल्न बाँकी छ । तर, अमेरिका र युएईको समान आठ अङ्क रहेकोले विजेता र उपविजेताको मात्र टुङ्गो हुन बाँकी छ ।

हेड टु हेडमा अमेरिका अगाडि छ । विश्वकप छनोटमा आइसिसी सुपर लिगको अन्तिमका पाँच, लिग–२ का तीन र प्लेअफका दुई गरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

सुपर लिगमा रहेको विश्वकप आयोजक भारतसहित अष्ट्रेलिया, इङ्ल्यान्ड, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड गरी शीर्ष सात टोलीले सोझै विश्वकपमा स्थान बनाई सकेका छन् ।

अब दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछ । जिम्बाबेमा हुने विश्वकप छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

समूहको शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको भिडन्तपछि शीर्ष दुई टोलीले भारतमा अक्टोबर नोभेम्बरमा आयोजना हुने विश्वकप खेल्नेछन् । विश्वकपमा १० टोलीको सहभागिता रहनेछ ।