• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा

blog

काठमाडौँ, चैत २२ गते । सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा आयोजना हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा भएको छ ।

चैत २३ गतदेखि २५ सम्म आयोजना हुने महासम्मेलनमा एक हजार जनाको सहभागिता हुने  आयोजक राष्ट्रिय सहकारी महासङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

महासम्मेलनमा तीनै तहका सहकारी प्रतिनिधि, जनप्रतिनिधि, निजी क्षेत्रका व्यापारी व्यवसायीलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीकर्मीहरूको उपस्थितिमा समसामयिक एक दर्जन विषयहरूमा छलफल गर्न लागिएको महासङ्घले जानकारी दिएको छ ।

‘सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन’ भन्ने नाराका साथ राजधानीमा हुने महासम्मेलन अवधिमा सरकारका पूर्वअर्थमन्त्री, मन्त्री, पूर्वगभर्नर, सचिवसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीविज्ञहरूको प्रस्तुति रहनेछ । महासम्मेलनमा अस्ट्रेलिया, जापान, भारतलगायत देशका सहकारीविज्ञहरूको अनुभवको समेत प्रस्तुति रहने महासम्मेलन स्टेरिङ कमिटीकी सदस्य सचिव तथा महासङ्घकी महाप्रबन्धक चित्रा थामसुहाङले जानकारी दिनुभयो ।

यसैगरी महासम्मेलनको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै अन्तर्राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रूपमा सम्बोधन गर्ने महासङ्घले जनाएको छ ।

महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ एसिया प्रशान्त क्षेत्रका अध्यक्ष चन्द्रपालसिंह यादव, अल चाइना फेडरेसन अफ सप्लाई एन्ड मार्केटिङ कोअपरेटिभका उपाध्यक्ष काई झेनहोङ, नेसनल एग्रिकल्चर कोअपरिटिभ फेडरेसन, दक्षिण कोरिया उपाध्यक्ष जे सिक ली, जापानिज कन्जुमर  कोअपरेटिभ युनियनका उपाध्यक्ष सितोसे अराई, नेडाक अध्यक्ष पङ्कजकुमार बत्स्यालसमेतको सहभागिता रहने महासङ्घले जानकारी दिएको छ ।

महासम्मेलनमा ११ वटा विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल र एउटा विषयमा भने प्यानल छलफलको कार्यक्रम तय गरिएको छ । महासम्मेलनले सहकारी अभियानलाई नयाँ उचाइमा पु-याउने राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले पत्रकार सम्मेलनमा बताउनुभयो ।

नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घले प्रत्येक पाँच/पाँच वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएको छ ।