• ९ मंसिर २०८१, आइतबार

रोगव्याधी अन्त्यको लागि थारु समुदायको कन्तरी पूजा

blog

नवलपुरको कावासोती– १५ बरौलीमा थारु समुदायको देवीथान स्थापनाकाे लागि जाँदै भक्तजन । तस्बिर: मीना कंडेल

मीना कंडेल

कावासोती, चैत २१ गते । नवलपुर र चितवनका थारु समुदायले धूमधामका साथ मनाउने संसारी कन्तरी  पूजा यस वर्ष सुरु भएको छ । थारु समुदायमा विशेष महत्त्वका साथ कन्तरी पूजा पर्वकै रूपमा मनाउने गर्छन् । रोगव्याधी अन्त्यको लागि थारु समुदायले कन्तरी माई र संसारी माईको पूजा गर्ने गर्दछन् । 

यी सबै थारु समुदायका फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन् । फरक कुलका विभिन्न देवीदेवतालाई नवलपुरको देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा एकै थलोमा देख्न पाइने मध्यविन्दु नगरपालिका १ का पुजारी गुनकुमार गुरौले बताउनुभयो ।

नवलपुर जिल्लाका कावासोतीका विभिन्न स्थान, देवचुली डाँडा, गैडाकोटको सिख्रौली, भेडाबारी, विनयी त्रिवेणीको सर्दि गरी ११ स्थानमा  कुलदेवताको देवीथान स्थापना गरी पूजाआजा गरिने गुरौले बताउनुभयो ।

हरेक पाँच वर्षमा थारु समुदायले कन्तरी पूजा गर्ने र परिवारमा सुख शान्ति मिल्ने विश्वासका साथ पूजा गर्ने गरेको कावासोती १५ का टीका चौधरी बताउनुहुन्छ । चैत्र पूर्णिमाको दिन स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा गरिने पूजा भने सर्वसाधारणको उपस्थितिमा तीन दिन अघिदेखि गर्ने गरिएको  छ ।

यो पूजा देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा गएर गर्ने गरिन्छ । श्रीथान कुमारवर्ती माई (देवी) संरक्षण समिति नवलपुरको सचिव पतिराम थनेतले यस वर्षको संसारी माई को पूजा सुरु भएको बताउनुभयो ।

कन्तरी पूजा गर्दा देवीको पूजा गर्ने डोलासहित हात्ती, घोडा र मानिसका मूर्ति बनाएर स्थानीयको घरबाट मूर्तिलाई नारायणी नदीमा लगेर चोखो बनाएर स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा पु¥याएर मूर्ति स्थापना गरिन्छ ।

सबैभन्दा पहिले घरमूलीले सुरूमा थाली उठाइसकेपछि मात्र अरुले क्रमशः लाइनबद्ध तरिकाले उठाउने गरिन्छ । पूजा गर्ने स्थान पुगेपछि पनि घरमूलीदेखि गुरुले विधिवत् रूपमा पूजाआजा गर्ने गर्दछन् ।

नवलपुर र चितवनका थारु समुदाय पूर्णिमाको अघिल्लो रात कृतिपुरमा बास बसी २२ गते अर्थात् चैत्र पूर्णिमाको दिन संसारी माई को पूजा गर्ने गरिन्थ्यो । सोही स्थानमा पाँच वर्षमा एक पटक भने कन्तरी माई को पूजा गर्ने प्रचलन थारु समुदायमा छ । 

गीत गाउँदै पूजा गर्ने र पूजा गरिसकेपछि पुनः सबै घरमा गई थारुहरूको परम्परा अनुसार विशेष गरी पूजा गर्ने स्थानमा खसी, बोका र कुखुरालाई बलि दिएर साँझ घर फर्किएर घरमा आफूहरूले खाना खाने कावासोती १० का स्थानीय चन्द्रा महतो बताउनुहुन्छ ।

थारुहरूले हरेक पर्वमा पुज्ने अग्नि देवताको लागि पनि भाग छुट्याइन्छ । परिवारका सबै सदस्यसँगै बसेर रमाइलो गर्दै एकअर्कामा माया र सद्भाव साटासाट गर्दै खाने र रमाउने गरिन्छ । पूजा समापनपछि विशेष परिकारका साथ रमाइलो गरी एक आपसमा बाँडीचुँडी खानपिन गर्ने चलन थारु समुदायमा छ । 

थारु समुदायको सबैभन्दा ठूलो देवता पाण्डव भएकाले कन्तरी पूजा गरेपछि घरपरिवारमा सुख शान्त मिल्ने र रोगव्यादी नलाग्ने धार्मिक विश्वास रहेको मध्यविन्दुका खुसीराम महतोले बताउनुभयो । थारु जातिको मौलिक तथा प्राचीन कला, संस्कृति हराउने चिन्ता बढेको कतिपय युवा पुस्तामा पूजाको महत्त्व नै हराउँदै जान थालेको पनि थारु अगुवा महतोले चिन्ता व्यक्त गर्नुभयो ।