• २२ असार २०८२, आइतबार

खैराबाङको आम्दानी चौबीस लाख

blog

सल्यानको खैराबाङ भगवती मन्दिर । तस्बिर : प्रतीक इच्छुक शर्मा

सल्यान समाचारदाता

सल्यान, चैत २१ गते । सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भगवतीको मन्दिरमा सात सय पशु बलि चढाइएको छ। चैतेदशैँको अवसरमा पाँच दिनको अवधिमा मन्दिरमा बोका, भेडा र राँगा गरी सात सय पशु बलि दिइएको खैराबाङ भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। 

कुखरा, हाँस र परेवाको भने १० हजार बलि चढाइएको खैराबाङ भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छवि शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार २० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजापाठ गरेका छन्। विशेषगरी खैराबाङ भगवतीको मन्दिरमा बोका, भेडा, राँगा, कुखुरा, हाँस र परेवाको पञ्चबलि चढाइन्छ। खैराबाङ भगवतीको मन्दिरमा बलि चढाएमा मागेको वर पाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

बडादशैँमा घटस्थापनादेखि दशमीसम्म विशेष पूजापाठ तथा बलि दिने गरिन्छ। बडादशैँमा मात्र २० हजारभन्दा बढी पशु बलि चढाइने गरिएको बताइन्छ। 

मन्दिरमा चढाएको पशु बलिको टाउको बेचेर मात्र वार्षिक १८ लाख आम्दानी हुने गरेको छ। मन्दिरको भेटीबाट वार्षिक आठ लाख आम्दानी भइरहेको मन्दिर व्यवस्थापन समिति सदस्य दीपक शर्माले बताउनुभयो। नेपालमा रहेका ५१ पीठमध्ये खैराबाङ एक महत्वपूर्ण तीर्थस्थल रहेको बताइन्छ।