टोपलाल अर्याल
रेसुंगा(गुल्मी), चैत ३० गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाले उत्कृष्ट बिद्यार्थी, शिक्षक र बिद्यालयलाई सम्मान गरेको छ । शैक्षिकसत्र २०८१ को गाउँपालिका स्तरीय आधाभूत तह परीक्षा (कक्षा ५–८) तथा माद्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट विद्यार्थी नगदसहित सम्मान गरेको हो ।
कक्षा ५ को सामुदायिक विद्यालयतर्फ ग्वाघा माविबाट रिया थापा र संस्थागततर्फ चक्रेश्वर इङ्गलिस बोर्डिङ्ग स्कुलका सन्देश थापालाई नगदसहित सम्मान गरिएको छ। उहाँहरु दुवै जनाले ३.८८ जिपिए ल्याउनु भएको थियो ।
त्यस्तै, कक्षा –८ को सामुदायिक बिद्यालयतर्फ ज्ञानोदय मावि सराङ्गकी समीक्षा बस्नेत र संस्थागततर्फ चक्रेश्वर इङ्गलिस बोर्डिङ्ग स्कुलकी श्रेया खत्री उत्कृष्ट भएर सम्मानित हुनु भएको छ । बस्नेतले ३.८४ र खत्रीले ३.७८ जिपिए प्राप्त गर्नुभएको चन्द्रकोट गाउँपालिकाको शिक्षा अधिकृत नयनसिंह ठकुरीले जानकारी दिनुभयो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को सामुदायिक बिद्यालयतर्फ उदय माविका निशान भण्डारी र संस्थागततर्फ चक्रेश्वर इङ्गलिश बोर्डिङ्ग स्कुलका विशन थापालाई सम्मान गरिएको छ । भण्डारीले –४ जिपिए र थापाले ३.८९ जिपिए ल्याउनु भएको थियो । कक्षा –१२ मा उदय माविबाट शंकर अर्याल उत्कृष्ट भएर सम्मानित हुनुभयो ।
शैक्षिकसत्र २०८१ को आधारभूत तह कक्षा ५ तर्फ शतप्रतिशत नतिजा दिने जनज्योति आधारभूत बिद्यालय चन्द्रकोट –२, शारदा माध्यमिक विद्यालय चन्द्रकोट –१, सराङ, हर्राचौर माध्यमिक विद्यालय चन्द्रकोट –३, हर्राचौर र बालबोध माध्यमिक विद्यालय चन्द्रकोट, झारखर्कलाई सम्मान गरेको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो।
त्यस्तै, आधारभूत तह कक्षा –८ तर्फ शतप्रतिशत नतिजा दिने शारदा माध्यमिक विद्यालय चन्द्रकोट –१ अर्जेवा, माध्यमिक शिक्षा परीक्षा एसर्इईतर्फ सर्वोत्कृष्ट नतिजा दिने चक्रेश्वर इङ्गलिश बोर्डिङ्ग शान्तिपुर चन्द्रकोट –४ शान्तिपुरलाई सम्मान गरिएको छ ।
माध्यमिक शिक्षा परीक्षा कक्षा –१२ मा सर्वोत्कृष्ट नतिजा दिने शारदा माध्यमिक विद्यालय चन्द्रकोट –१, सराङलाई सम्मान गरिएको हो । उत्कृष्ट प्रधानाध्यापकको रुपमा आधारभूत विद्यालयबाट बसन्ती न्यौपाने र माध्यमिक विद्यालयबाट लक्ष्मीप्रसाद न्यौपानेलाई नगद पुरस्कारसहित सम्मान गरिएको सूचना अधिकारी ज्ञवालीले बताउनुभयो । उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षको रुपमा आधारभूत विद्यालयबाट तेजबहादुर थापा र माध्यमिक विद्यालयबाट लिलबहादुर रानालाई सम्मान गरिएको थियो ।
उत्कृष्ट आधारभूत विद्यालयको रुपमा भिमा आधारभूत बिद्यालय, माध्यमिक विद्यालयतर्फ ग्वाघा माध्यमिक विद्यालय र उत्कृष्ट संस्थागत विद्यालयको रुपमा चक्रेश्वर इङ्गलिश बोर्डिङ्ग स्कुललाई सम्मान गरिएको हो । सेवानिवृत शिक्षक गणेशबहादुर कार्की, हरिप्रसाद न्यौपाने र हरिनारायण शर्मालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार नै बिद्यालय, बिद्यार्थी, प्रध्यानाध्यापकदेखि समिति र सेवा निवृत शिक्षकलाई सम्मान गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिनुभयो । बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग गर्ने सवै क्षेत्रका व्यक्तिहरुको मनोवल उच्च बनाउन सम्मान गरिएको केसीले बताउनुभयो।