रामकृष्ण बोहरा
बागलुङ, चैत ३० गते । ज्येष्ठ नागरिक र असक्तहरूका लागि सदरमुकाम बागलुङ बजारमा ‘दिवा सेवा कार्यक्रम’ सञ्चालन गर्ने उद्देश्यले आयोजित श्रीमद भागवत महापुराण पितृ सप्ताहबाट साढे २६ लाख रुपियाँ सङ्कलन भएको छ ।
बागलुङ नगरपालिका–३, चिप्लेटी बसपार्कमा सामुदायिक सेवा केन्द्रद्वारा आयोजित पितृ सप्ताहमा उत्साहजनक सहभागिता जनाएका भक्तजनले पवित्र कामका लागि सहयोग गर्नुभएको हो । सप्ताहमा वडा ३ को कार्यालयले १ लाख २५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरेको सामुदयिक सेवा केन्द्रका सचिव सुमन खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार सप्ताहमा बागलुङ नगरपालिकाले एक लाख ११ हजार, कालिका भगवती गुठी व्यवस्थापन समितिले ५० हजार ५ सय ५५, बागलुङ नगरपालिका-८, सिगानाको कार्यालयले ५१ हजार, नागरोडस्थित मेलमिलाप आमा समूहले ५१ हजार ५ सय ५५, तातोपानी महिला समूहले ३० हजार र सारथी महिला समूह गुठीले ३५ हजार रुपियाँ संस्थागत रूपमा सहयोग गरेका छन् ।
चैत २१ गतेदेखि सुरु भएको सप्ताह शनिबार सम्पन्न भएको छ । सप्ताहमा पण्डित तीर्थराज उपाध्यायले कथावाचन गर्नुभएको थियो । सप्ताहमा भजनकृतन, उत्प्रेरणात्मक र योग क्रियाकलापसँगै मानवताका रक्षाका लागि विद्वानहरूले प्रवचन दिनुभएको थियो ।
सप्ताहमा सङ्कलित दानबाट दिवा सेवा कार्यक्रम चलाउन आवश्यक भवन निर्माण र गरिब, जेहेनदार, असक्त, अपाङ्ग र अभिभावकविहिन विद्यार्थीका लागि कोष स्थापना गरिने छ ।
साथै, सामाजिक सद्भाव र भातृत्व कायम गर्ने, लागु औषध, साइबर अपराधबारे सचेतना जगाउने, घरेलु तथा महिला हिंसा, बालश्रम शोषणविरुद्वका कार्यक्रम पनि चलाउने लक्ष्य रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष लीलादेवी खड्काले जानकारी दिनुभयो ।
मानवीय सेवाका लागि आयोजित श्रीमद भागवत महापुराण पितृ सप्ताहलाई सफल बनाउन र उद्देश्य अनुसार पूर्वाधार र कोष निर्माणमा नागरिकले साथ दिएको खड्काले बताउनुभयो । ‘‘सप्ताहमा विभिन्न समूहहरू, सङ्घ संस्था र व्यक्तिगत रूपमा सहयोग प्राप्त भएको छ’’ खड्काले भन्नुभयो, ‘‘दाताले देखाएको विश्वासबाट हामी लक्ष्य नजिक पुगेका छौं ।’’
ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिने, भजन गाउने, चिया खाजाको व्यवस्थापन गर्न केन्द्र सञ्चालित हुने छ । बजार क्षेत्रनजिक भएकाले जोसुकै पनि केन्द्रमा आएर सेवा लिन सक्नेछन् । निवृत्त भएकादेखि घरका परिवार बाहिर भएकाले एक्लो महशुस गरेको जो कसैलाई दिवा सेवामा राखेर सेवा दिइने अध्यक्ष खड्काले बताउनुभयो ।