• १३ साउन २०८१, आइतबार

सुरु भयो नवदुर्गा नाच

blog

काभ्रे (पनौती), चैत २१ गते । भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा नाच सोमबार काभ्रेपलाञ्चोकको पनौतीमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगणद्वारा विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा पनौती नगरमा नृत्य प्रदर्शन गरिएको हो । प्रत्येक वर्षजस्तै यस वर्ष पनि भक्तपुरको नवदुर्गा पनौतीमा ल्याइएको नवदुर्गा देवगणका नारायणमान बनमालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बनेपामा चार दिनसम्म नवदुर्गाको नाच सकिएपछि गण पनौतीतर्फ लाग्छन् । पहिलो दिन पनौती बजारमा परिक्रमा गरी नवदुर्गाका लागि बनाइएको घरमा बास बस्छन् । भोलिपल्ट बिहान ठाउँठाउँमा नाच प्रदर्शन गरिन्छ । तेस्रो दिन माछा मार्ने जात्रा गरिन्छ भने चौथो दिन पनौतीबाट भक्तपुरका लागि प्रस्थान गरिन्छ । 

यो नाच तान्त्रिक विधिविधान मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कारयुक्त भावप्रधान नाच भएको जानकारी दिँदै बनमालाले भन्नुभयो, ‘‘यसमा बोलेरभन्दा पनि निश्चित भाव सङ्केतद्वारा संवाद गरिन्छ । नाचले मल्लकालीन समयको संयुक्त परिवारको संरचना र रहनसहनबारे बताउँछ ।’’ जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने भावना, ठूलालाई गरिने आदर–सत्कार, सानालाई गर्ने मायाप्रेम, सामाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन आदिको प्रतिनिधित्व गरेको हुन्छ । 

बनमालाका अनुसार घरमुली (नङ्की)को दायित्व र महìवसँगै तिनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा मुलीले १८ गण सदस्यलाई नवदुर्गा देवगृहमा भिœयाउनेदेखि लिएर निष्काशन गर्नेसम्मको भूमिका निर्वाह गरिन्छ ।  भक्तपुरमा प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण र उत्साह, उमङ्ग छाउने र  अन्त्यसँगै देशकै लागि विभिन्न कठिनाइ आइपर्न सक्छ भन्ने आम विश्वास रहेको पाइन्छ । १९ जना देवगण रहने यो नाचमा मुकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । नवदुर्गा अर्थात् माछा मार्ने जात्रामा भैरव, महाकाली, वाराही, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव र श्वेतभैरवका रूपमा देवगणले नाच्ने गर्छन् ।

यो जात्रामा खे बाजा, त बाजा र काया बाजा बजाउने तथा महालक्ष्मी अर्थात् सिफोद्यो बोक्ने तीन÷तीन जना रहन्छन् । यो जात्रामा दर्शकले सिठी बजाएर ‘आ आ आ’ गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्छ । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । वर्षभर जन्ममृत्युका संस्कारसहित मनाइने नवदुर्गा नाच काठमाडौँ उपत्यकालगायत वरपरका प्राचीन नेवाः सहरमा प्रदर्शन गरिन्छ । 

महिषासुरको प्रतीक खँम्ये वध गरेसँगै भक्तपुरमा नवदुर्गा गण नाच सुरु हुन्छ । बनमालाका अनुसार नवमीको मध्यरातमा आसुरी शक्तिको प्रतीक खँम्ये अर्थात् राँगोलाई ब्रम्ह्मायणी पीठमा वध गरिन्छ । त्यसपछि तान्त्रिक शक्तिमा आधारित नवदुर्गाका मुकुटलाई प्रत्येक वर्ष नयाँ बनाएर सोही दिनदेखि नाच सुरु गर्नुपर्ने परम्परा छ । बनमालाले भन्नुभयो, “देवी नाचका लागि निर्माण गरिएका मुकुटमा कर्माचार्य समुदायले तान्त्रिक प्राण प्रतिस्थापन गरेका हुन्छन् । नयाँ बनाइएका मुकुटलाई भक्तपुर दरबारको तलेजुमा पु‍¥याएर आवश्यक पूजाविधिपश्चात् नवदुर्गा भवानीको देवता घरमा राखिएको हुन्छ ।”