• १३ साउन २०८१, आइतबार

आपसमा जुध्दै चार चलचित्र

blog

काठमाडौँ, चैत २० गते । कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि बिस्तारै दर्शक तान्न थालेको नेपाली चलचित्र क्षेत्र यति बेला आर्थिक रूपमा पनि सबल हुँदै गएको छ । 

यद्यपि सबै चलचित्रले सोचेजस्तो व्यापार गर्न नसक्दा चलचित्र चलाउन सङ्घर्ष गर्नुपर्ने स्थिति भने छ । त्यसमा पनि केहीले एकै पटक दुई/चारवटा चलचित्र एउटै मितिमा जुधाउँदा दर्शक बाँडिने अवस्था छ । यसरी एकआपसमै भिडेर ‘जसरी पनि चलचित्र चलाउ, जसरी पनि पैसा कमाउ’ भन्ने मान्यता बोक्दा त्यसको असर कमाइ हुने पक्का छ ।  

कुनै उत्सव, पर्व आउनै हुँदैन, नेपाली निर्माता/निर्देशक युद्धको मैदानमा झै आफ्ना चलचित्र एकआपसमा भिडाउन तम्तयार हुन्छन् । पछिल्लो अवस्थालाई हेर्ने हो भने ‘छक्का पञ्जा ४’ पछि खासै नयाँ चलचित्र प्रदर्शनमा आएका छैनन् तर नयाँ वर्षको डिलमै भने कतिपय निर्माता/निर्देशक नयाँ वर्षमै चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका छन् । जसको असर नयाँ वर्षकै दिन चारवटा चलचित्रबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

यद्यपि नेपाली चलचित्र क्षेत्रमा एकैसाथ तीनदेखि चार चलचित्र जुधाउने नौलो होइन । वैशाख १ गते ‘नाइँ नभन्नु ल ६’, ‘बिहे पास’, ‘जारी’ र ‘बुलाकी’ एकसाथ प्रदर्शनमा आउने तयारीमा छन् । यी चारवटै चलचित्र व्यापारिक रूपमा आशा गर्न सक्ने चलचित्र मानिन्छन् ।

यीमध्ये दुई चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ । एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने त्यति खुसी देखिनुहुन्न । उहाँ भन्नुहुन्छ, “मैले पनि चलचित्रको प्रदर्शन मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोज्नुभयो थाहा छैन । यसबारे छलफल गर्नेछु ।” 

‘नाइँ नभन्नु ल ६’ का निर्देशक विकासराज आचार्य धेरै महिनाअघि आफूहरूले नयाँ वर्षलाई प्रदर्शन मिति तोकेको दाबी गर्नुहुन्छ । ‘राम्रो कुरा र नयाँ स्वाद पस्कुँ भनेर पनि हामीले वैशाख १ रोजेका हौँ,” निर्देशक आचार्यले भन्नुभयो । यही बेला चलचित्र प्रदर्शन गर्नुका कारण भने आफ्नो चलचित्र बढी बालबालिकामा केन्द्रित हुने र यो समय विद्यालय पनि बन्द हुने उहाँको भनाइ छ ।  निर्देशक आचार्य भन्नुहुन्छ, “चारवटा चलचित्र एकसाथ जुध्दा सबैलाई असर हुन्छ तर पनि जुन चलचित्रले दर्शकलाई प्रभावित पार्छ त्यही चलचित्र चल्ने हो । त्यसैले पनि आफ्नो एकखालको दर्शक भएकाले ‘नाइँ नभन्नु ल ६’ चल्नेमा म ढुक्क छु ।”

त्यस्तै चलचित्र बुलाकीका निर्देशक लक्ष्मण सुनार आफूहरूले यसअघि पनि चार/पाँच पटक प्रदर्शन मिति परिवर्तन गरिसकेकाले अब वैशाख १ मै चलचित्र प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको बताउनुहुन्छ । आफूहरूले कसैसँग चलचित्र जुधाउने हिसाबले नभएर केही राम्रो कुरा चलचित्रमार्फत दर्शकलाई दिउँ भनेर नयाँ वर्षमा चलचित्र प्रदर्शन गर्न खोजेको उहाँको भनाइ छ । नयाँ वर्षमा चलचित्र प्रदर्शन गर्दा दर्शक तानिन्छन् पनि र चलचित्रलाई पनि केही राहत हुने उहाँको भनाइ छ । एकै दिन अन्य तीन चलचित्रसँग प्रदर्शन हुँदा खासै फरक नपर्ने उहाँले दाबी गर्नुभयो । उहाँले आफूहरूसँग कसैले सल्लाह नगरेको र उहाँहरूलाई चलचित्र प्रदर्शन गर्दा फरक नपरे आफूहरूलाई पनि खासै फरक नपर्ने बताउनुभयो । 

अन्य समयभन्दा नयाँ वर्षमा धेरै दर्शक हलसम्म पुग्ने विश्वास पालेका निर्माता/निर्देशकको रोजाइ यही दिन हुने गरेको छ । यद्धपि चलचित्रको कथावस्तु, मौलिक अभिनय र उत्कृष्ट निर्देशनलाई मन पराइए मात्र चलचित्र बिक्छ भन्ने हेक्का पनि निर्माता/निर्देशकले भुल्नु हुँदैन । त्यसका लागि कुनै चाडबाड वा नयाँ वर्ष नै कुर्नु पर्दैन ।