यो बादलको गाउँभन्दा पनि परको गाउँमा
एक जोर आँखाहरू बाटोमा ओछ्याइएका छन्
उप्किँदै गरेका घरका भित्ताहरू
मक्किँदै गरेका झ्याल
अनि थोत्रिँदै गरेको छानो भित्र
आशाको टेको बनाई भरोसाको आड लिएर
बाँचेकी छन् मेरी आमा
सन्तान फर्कने विश्वासको गाग्री मझेरीमा राखेर ।
पलाउँदै गरेका पखेटाहरूमा
साहस थप्दै उड्न सिकाउने आमा
आजसम्म पनि साहस बोकेर
भग्नावषेश हुँदै गरेको
घरमा टेको बनेर बसेकी छन्
थाहा छैन कहिलेसम्म अड्याउन सक्छिन्
आमाले मायाको दलिन
जहाँ आमाका पसिनाका खापाहरू जोडिएको छन्
हो, यहाँ सबैलाई
आफ्नै पसिनाको दाम्लोले बाँधेर राख्ने रहेछ
त्यसैले त म
मेरा पसिनाको घर छोडेर
आमाको पसिनामा भिज्न सकिन
र यो मनको क्षितिजमा उभिएर
मडारिएको बादलसँग
मडारिएकै मन कुरा गरिरहेछ
एकदिन म पनि
जीर्ण शरीरको भग्नावशेषमा उभिएर
आँखाले बाटो खन्नेछु ।