बाल्यकालको कुरा, पढाइको कुरा चल्यो भने मलाई सधैँ एक जना बूढी बज्यैको सम्झना आउन थाल्छ । किनकि उहाँ मेरो बाल्यकालमा मसँग अति निकट हुनुहुन्थ्यो, उहाँले नै मलाई किन पढ्नुपर्दछ भन्ने कुरा बुझाउनुभएको थियो ।
बूढी बज्यैको थर तिङ् थियो । मैले कुरा बुझ्ने भएपछि, उहाँले लगाउनुहुने नीलो कपडाको कमिज र उहाँ निहुरेर भित्र छिर्न मिल्ने काठको पुरानो सन्दुक एउटाबाहेक घरमा भएका अरू कुनै वस्तुको मलाई याद छैन । चीनमा भूमिसुधार लागू भएपछि उहाँ हाम्रो छिमेकीको घरको एउटा खाली कोठामा बस्न आउनुभएको थियो, त्यसै बेलादेखि उहाँ मेरी आफ्नै बज्यैसँग दिदीबहिनी जस्तै गरेर बस्नुभयो ।
म जन्मेको एक सय दिनपछि बिरामी हुन थालेको थिएँ, दुई तीन दिनमा एक चोटि बेहोस भई काम्ने हुन्थ्यो, जान्ने ताउ धर्मीलाई लगाएर भूत पन्छाउने काम पनि गरियो, गाउँको जान्ने वैद्यलाई पनि जँचाइयो तर केही गरेर पनि ठीक भएन । हिउँ परेको एक रात हेर्दा मेरो सासै रोकिएको देखेर विवश पिताजीले मलाई झुलनासहित कोठाबाहिर राख्नुभयो । करिब एक घण्टापछि तिङ बज्यैलाई यो कुरा थाहा भएछ, उहाँले भन्नुभयो, “आफ्नै सन्तानलाई यसरी कोठा बाहिर मर्न दिनुहुन्न ।” त्यसपछि उहाँले हिउँ परेको, हुरीबतास चलेको वास्ता नगरी त्यहाँ आउनुभएर मलाई बोकेर कोठाभित्र ल्याउनुभएछ ।
त्यस रात तिङ बज्यै हाँस्नुभयो, उहाँ एकदम खुसी भएर हाँस्नुभयो; केही बेरपछि उहाँ फेरि रुनुभयो, मलाई अँगालेर रुनुभएको थियो, रुँदा उहाँ फेरि एकदम दुःखी हुनुभयो ।
त्यसपछिदेखि ती बज्यैले सधैँ नै म उहाँको नाति हुनुपर्ने भन्नुहुन्थ्यो, उहाँको आफ्नै नाति पनि कोही थिएन । दुई वर्षपछि मेरो भाइ जन्मियो, मेरो बज्यैलाई बच्चा भनेपछि त्यति मन पर्दैैनथ्यो, त्यसैले तिङ बज्यैले नै मलाई अनेकौँ बहाना बनाई बोकिरहनुहुन्थ्यो, म रातदिन उहाँसँगै हुन्थेँ । त्यसरी नै म करिब सात वर्ष पुग्ने बेलामा उहाँ त्यहाँबाट बसाइँ सरेर अर्को ठाउँमा जानु नभएसम्म उहाँसँगै रहेँ । उहाँले मध्यरातमा उठेर आँखा चिम्लिरहेको मलाई खोले पिलाउनुहुन्थ्यो रे, उत्पादन टोलीको साझा भान्छामा मलाई आधा चम्चा पारदर्शी खोले बढी दिलाउनका लागि उत्पादन टोलीका नाइकेसँग झगडा गर्नुहुन्थ्यो रे, यी कुराको मलाई बिल्कुल कुनै सम्झना छैन । तर उहाँले मलाई सुनाउनुभएका पढाइसम्बन्धी कथाहरू भने जीवनभर बिर्सन सक्दिनँ ।
म कति वर्षको हुँदा अहिले मलाई राम्ररी सम्झना भएन, उहाँले अनायास मलाई अक्षर लेख्न सिकाउनुपर्ने कुरा सम्झिनुभएछ । उहाँ पहाडको पल्लोपट्टिको सानो पसल गएर मेरो लागि एउटा अक्षर लेख्ने ब्रुस किन्न जानुभयो । अक्षर लेख्ने ब्रुस किनेर फर्किंदा आधा बाटोमा अरूले देखेर बच्चालाई अक्षर लेखाउन सिसाकलम पो ल्याउनुपथ्र्यो भनेर सम्झाएपछि उहाँले गएर साटेर सिसाकलम लिएर आउनुभएछ । फर्केपछि उहाँ भन्दै हुनुहुन्थ्यो, “पहिले पहिले पाठशाला जाँदा मसी चोपेर लेख्ने कलम किन्थे, अहिले यो सिसाकलमको चलन आएछ, यस्तो हेर्दा काठको लट्ठीजस्तो, खै यसले कसरी लेख्ने हुन् ?” त्यो सिसाकलम मेरो अक्षर लेखाइको प्रारम्भ बन्न सकेन तर मेरो एक मात्र खेलौना बन्न पुग्यो । एक दिन दिउँसो निदाएको बेला त्यो सिसाकलम मेरो हातबाट खसेछ, घरमा पालेको सानो बङ्गुरको बच्चाले त्यो सिसाकलम चपाएर बिगारिदियो । म दुःखी भएर रोएको सहन नसकी, तिङ बज्यैले हतार हतार गएर अर्को एउटा सिसाकलम किनेर साँझ पर्नुभन्दा पहिले फर्किनुभयो ।
त्यसपछिदेखि तिङ बज्यैले मलाई पढाइ लेखाइसँग सम्बन्धित कथाहरू सुनाउन थाल्नुभयो । धेरै पहिले एक जनाले राति पढ्न बत्ती नभएको हुनाले धेरैवटा जुनकीरी समातेर एउटा अन्डाको बोक्राभित्र राखी त्यसैको प्रकाशमा पुस्तक पढेर पछि देशभरिको परीक्षामा पहिलो भयो रे । अर्को एक जना गाइगोरु चराउन जाँदा गोरुको जिउमाथि बसेर पुस्तकहरू पढ्दथ्यो, पछि ऊ पनि देशभरिको परीक्षामा पहिलो भयो, ठूलो हाकिम भयो रे आदि आदि । उहाँ जहिले पनि तानमा कपडा बुन्दै मलाई ती कथाहरू सुनाउनु हुुन्थ्यो, उहाँ सधैँ शान्त स्वरमा बोल्नु हुन्थ्यो । उहाँले सुनाउनुभएका ती सरल कथाहरूले मेरो मनमस्तिष्कमा उत्कृष्ट कलाकारहरूको अभिनयले भन्दा गहिरो छाप छोड्न सफल भएका थिए । हरेक पटक कथा सुनाइसकेपछि उहाँ भन्नुहुन्थ्यो, “बाबु, तिमीले ठूलो भएपछि धेरै धेरै पढ्नुपर्छ, पढेर ठूलो मान्छे बन्नुपर्छ, तिमी पनि देशभरिको परीक्षामा पहिलो बन्नुपर्छ, यो बज्यैको नाम राख्नुपर्छ ।” यति भन्ने बेलासम्म उहाँ केही भावुक, केही उत्तेजित हुनुहुनथ्यो, लाग्दथ्यो उहाँले आफ्नो सम्पूर्ण शब्दावलीमध्ये सबैभन्दा भावपूर्ण शब्दहरू प्रयोग गर्दै हुनुहुन्छ ।
कुनै पनि समयमा कुनै पनि कारण देखाएर हामी बूढी बज्यैका यी विचारहरूलाई एक ग्रामीण वृद्धाका सङ्कुचित सोचाइ भनेर भन्न सक्दैनौँ । चीनको सरकारी सेवा प्रवेश परीक्षा खःच्øवीको इतिहासमा जम्मा पाँच सय तीन जना देशभरिको परीक्षामा प्रथम भएका थिए । तीबाहेक विभिन्न ऐतिहासिक कालमा चिनियाँ भूमिमा विद्यमान मूल राजनीतिक सत्ताबाहेक अन्य राजनीतिक सत्ताहरूले सञ्चालन गरेका खःच्øवी परीक्षामा प्रथम हुनेहरू अरू पाँच सय एकाउन्न जना मात्र थिए । तर हजार वर्षभन्दा लामो अवधिमा बनेको यस्तो संस्कृतिले के एक वृद्धालाई मात्र प्रभाव पारेको थियो त ? अहिले पनि मानिसहरू हरेक विधा हरेक व्यवसायमा प्रथम हुनेहरू हुन्छन् भनेर भन्ने गर्दछन्, त्यो पनि त देशभरिको परीक्षामा पहिलो हुने भनेर मानिसहरू प्रोत्साहित गरेकै होइन र ?
एक पटक मैले उहाँलाई सोधेँ, “बज्यै, हजुरले पनि पढ्नुभएको छ ?”
“पढेकी थिएँ, पढेकी थिएँ । मैले एक महिना पाठशालामा गएर पढेकी थिएँ, उनान्तीस दिन चाहिँ भागेर गएँकी थिएँ, एक दिन चाहिँ बिदा परेको थियो ।” यति भनेर उहाँ आँखाबाट आँसु नै झर्लाजस्तो गरी हाँस्न लाग्नुभयो । मैले कुरा नबुझेको देखेर उहाँले फेरि भन्नुभयो, “बज्यैले एक दिन पनि पाठशाला गएर पढेकी छैन भनेको के !” उहाँले आफ्नो नाम पनि लेख्न नजानेको बताउनुभयो । उहाँको थर तिङ चिनियाँ अक्षरहरूमा सबैभन्दा सरलमध्ये एक हो तर उहाँलाई आफ्नो थर तिङ पनि लेख्न आउँदैनथ्यो । उहाँको आफ्नो औपचारिक नाम थिएन, उत्पादन टोलीको लेखापालले लेखा किताबमा उहाँको नाम ‘लेउ तिङ थरकी’ भनेर लेखेका थिए । लेउ उहाँको लोग्नेको थर थियो । आफ्नो थर पनि लेख्न नजान्ने तिङ बज्यै मैले जीवनभर भुल्न नसक्ने मेरो पहिलो गुरु बन्नुभयो ।
उहाँले मलाई सिकाउनुभएको कुनै पुस्तकीय ज्ञान थिएन, त्यो ज्ञानप्रतिको श्रद्धा थियो । उहाँले धेरै पटक भन्नुभएको थियो, पहिलेका विद्यार्थीहरू हरेक दिन पाठशाला जानुअघि कन्फ्युसियसलाई ढोग्ने गर्दथे तर आजकाल त्यो चलन हराएर गइसक्यो । तर कुनै हालतमा कन्फ्युसियसलाई अनादर गर्नुहुँदैन, जस्तै अक्षर लेखिएको कागज चर्पीमा प्रयोग गर्नु हुँदैन आदि । उहाँ मैले राम्ररी पढोस् भन्ने भित्री मनदेखि नै चाहनु हुन्थ्यो, उहाँले मजस्तो उहाँको कतैबाट पनि नाता नपर्ने बच्चामाथि देखाउनुभएको लगनशीलता कुनै बच्चाप्रति प्राकृतिक रूपमा हुने माया, स्नेह मात्र थिएन, त्यो आफ्नो आत्मसन्तुष्टिका लागि मात्र पनि गरिएको थिएन । मेरो पालनपोषण उहाँको एक प्रकारको आन्तरिक चाहना थियो, एक आमाको पवित्र आकाङ्क्षा थियो ।
सात वर्ष पूरा भएपछि म पाठशाला जान थालेँ । तिङ बज्यै डाँडामा रहेको माटोले बनाइएको प्राथमिक पाठशालामा मलाई हेर्न आउनुहुन्थ्यो, कहिलेकाहीँ आफ्नो लुगाभित्रबाट काँक्रो आदि निकालेर मलाई दिनुहुन्थ्यो । उहाँ कक्षाकोठाको ढोकामा उभिएर धमिलो आँखाले एकनासले मलाई हेरिरहनुहुन्थ्यो । त्यस पाठशालामा एकै जना शिक्षकले दुई अलग कक्षाका सबै विषयहरू पढाउनुहुन्थ्यो । एक दिन शिक्षकले चार कक्षाका विद्यार्थीहरूलाई पढाइरहनुभएको बेलामा “हाम्रो देशको प्रान्त ठूलो कि काउन्टी ठूलो ?” भनेर सोध्नुभयो । विद्यार्थीहरू कसैले पनि जवाफ दिन सकेनन् । मैले डराउँदै भने, “मलाई थाहा छ ।” शिक्षकले मलाई उठेर जवाफ दिन भन्नुभयो । त्यसपछि शिक्षकले चार कक्षाका विद्यार्थीहरूलाई गाली गर्दै भन्नुभयो, “तिमीहरू त दुई कक्षाको विद्यार्थी जति पनि छैनौ ।” मेरो त्यस पटकको जवाफ सुनेर तिङ बज्यै धेरै समयसम्म खुसी भइरहनुभयो । कसैलाई भेट्दा उहाँ भन्नुहुन्थ्यो, “मेरो यो नाति पढ्नमा तेज छ ।”
उच्च माध्यमिक विद्यालयको पढाइ सकिएपछि छिट्टै म कम्युनको माध्यमिक विद्यालयमा शिक्षक बनेर काम गर्न थालेँ । असी वर्ष नाघिसक्नुभएकी तिङ बज्यै खुसी एवं सन्तुष्ट हुनुहुन्थ्यो । उहाँलाई आफ्नो भविष्यवाणी साकार भएको अनुभव हुन्थ्यो । तर हरेक पटक उहाँलाई भेट्न जाँदा उहाँ फेरि पनि पढाइसम्बन्धी नै कुरा मात्र गर्नुहुन्थ्यो । उहाँलाई पढ्ने मान्छे मात्र हुन्छन्, पढाउने मान्छे पनि हुन्छन् भन्ने थाहा नभए जस्तो लाग्थ्यो ।
पछि म अनिवार्य सैन्य सेवामा हुँदा पिताले चिट्ठीमा तिङ बज्यै बित्नुभएको र उहाँको अन्त्येष्टि संस्कारमा जानुभएको कुरा लेख्नुभयो । अहिलेसम्म पनि म बारम्बार तिङ बज्यैलाई सम्झेर मनमनै भन्ने गर्दछु, “म देशभरिको परीक्षामा पहिलो भइनँ र ठूलो पदमा पनि पुगिनँ तर म अहिलेसम्म पनि पढ्दैछु ।”
(नेपाली अनुवाद : डा. सर्वोत्तम श्रेष्ठ ।)