• ९ पुस २०८१, मङ्गलबार

राष्ट्रिय खेलकुद : तयार हुँदै पूर्वाधार

blog

रजनी योगी 

सुर्खेत, चैत १५ गते । दुई वर्षपछि आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा धमाधम पूर्वाधार विकास भइरहेको छ। यसअघि ठूला खेलकुद प्रतियोगिता सञ्चालन नगरेको कर्णालीलाई राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा भने निकै चुनौती हुने देखिएको छ। यद्यपि, प्रतियोगितालाई लक्षित गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ।

कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार प्रतियोगिताकै लागि केही पूर्वाधार निर्माण सुरु भइसकेका छन्। कुन जिल्लामा के–के पूर्वाधार बनाउने र त्यसका लागि कति बजेट लाग्छ भन्ने विषयमा आवश्यक छलफल र तयारी भइरहेको छ। १० वटै जिल्लामा पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारसँग एक अर्ब ३५ करोड बजेट माग गरिएको छ। रङ्गशाला निर्माणका लागि हाल एक अर्ब ५९ करोड बजेट रहेको छ। १० वटै जिल्लामा खेलपूर्वाधार निर्माण गर्नका लागि थप बजेट माग गरिएको सञ्ज्यालले जानकारी दिनुभयो।

चालीस प्रतिशत काम सम्पन्न

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण थालिएको सबैभन्दा ठूलो योजना हो, वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला। प्रदेश गौरवको रङ्गशाला निर्माणको काम हालसम्म ४० प्रतिशत सम्पन्न भएको छ। रङ्गशालाअन्तर्गत अन्तर्राष्ट्रियस्तरको कभर्डहलको ‘स्ट्रक्चर’ को सबै काम सम्पन्न भएको छ। फुटबल मैदानको काम पनि सकिएको छभने प्यारापिट निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको छ।

प्रदेश रङ्गशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ। फुटबल मैदानका साथै भलिबल कभर्डहल, एथलेटिक्स ट्र्याक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन्। त्यस्तै भीआईपी प्यारापिटको दुई तले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङसहित एक हजार पाँच सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण हुने परिषद्ले जनाएको छ। प्रदेश रङ्गशालामै ह्यान्डबल र बासकेट बललगायत खेलका लागि आउटडोर पनि बनाइनेछ।

प्रदेश रङ्गशालाबाहेक पनि विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणको योजना बनाइएको छ। प्रदेश सरकार र खेलकुद परिषद्ले खेल पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको सदस्य सचिव सञ्ज्यालले बताउनुभयो तर बजेट मुख्य चुनौती बनेको उहाँको भनाइ छ। उहाँका अनुसार प्रदेश रङ्गशाला २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

चार जिल्लामा कभर्डहल

प्रदेशका अन्य चार जिल्लामा कभर्डहल निर्माण हुँदैछन्। सल्यान, जाजरकोट, मुगु र हुम्लामा कभर्डहल बनेका छैनन्। सल्यान र जाजरकोटमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ। ‘दुई जिल्लामा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ। बाँकी दुई जिल्लामा पनि आगामी आर्थिक वर्षमा काम थाल्ने गरी तयारी भइरहेको सचिव सञ्ज्यालले जानकारी दिनुभयो। दैलेख, कालीकोट, जुम्ला र रुकुमपश्चिममा भएका कभर्डहलको स्तरोन्नति गरिनेछ। आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिको काम सुरु गरिने जनाइएको छ। राष्ट्रिय खेलकुद प्रतियोगितामा केही खेलहरू वीरेन्द्रनगरबाहिर पनि सञ्चालन गर्ने योजना परिषद्को छ। सोहीअनुसार ती जिल्लामा पनि खेल पूर्वाधारको स्तरोन्नतिमा जोड दिइएको हो। दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रुकुमपश्चिममा समेत प्रतियोगिता सञ्चालन हुनेछन्।

ठाउँ–ठाउँमा रङ्गशाला

राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी विभिन्न स्थानमा रङ्गशाला निर्माण थालिएको छ। रुकुमपश्चिमको चौरजहारी रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सङ्घीय सरकारको ८५ करोडको बजेटमा रङ्गशाला निर्माण हुन लागेको हो। प्रदेश सरकारको दुई करोड लगानीमा रुकुममै क्रिकेट मैदान बन्न लागेको छ। दुई वर्षभित्र सक्ने गरी बोलपत्र आह्वान भई सम्झौताको प्रक्रियामा रहेको छ। मैदान तयार भएमा १० औँ राष्ट्रिय खेलकुदमा क्रिकेट प्रतियोगिता रुकुममा सञ्चालन गर्नसकिने जनाइएको छ।

वीरेन्द्रनगर–५ को चिसापानीमा पनि खेलमैदान निर्माण गरिने भएको छ। शिक्षा विकास निर्देशनालयले खेल मैदान निर्माण गर्ने भएको हो। कर्णाली खेलकुद विकास परिषद् र वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेर निर्माणको काम अघि बढाइने निर्देशनालयका इन्जिनियर सन्तोष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार खेल मैदान निर्माणका लागि नगरपालिकासँग समन्वय भइरहेको छ। पालिकासँगको समन्वयमा काम गरिनेछ। त्यसका लागि चालु आर्थिक वर्षमा निर्देशनालयले ५० लाख बजेट विनियोजन गरेको छ। बहुवर्षीय योजनाअनुरूप काम हुनेगरी प्रदेश सरकारले बजेट थपेर काम अघि बढाइने भएको छ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६ मा बीपी रङ्गशाला निर्माण गरिने भएको छ। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर नै खेल मैदान बनाउन लागिएको हो। यसका लागि शिक्षा निर्देशनालयले आर्थिक सहयोग गरेको छ। उक्त स्थानमा पनि गएको आर्थिक वर्षमा फिल्ड लेबलिङको काम सम्पन्न भइसकेको छ। यो वर्ष खेल मैदानका बाँकी काम सम्पन्न गरिने निर्देशनालयका इन्जिनियर थापाले जानकारी दिनुभयो। गत वर्ष गरिएको खेल मैदान निर्माणलाई पूर्णता दिन चालु आर्थिक वर्षमा निर्देशनालयले ५० लाख बजेट छुट्याएको छ।