• १३ असोज २०८१, आइतबार

कोपिलालाई नयाँ घर

blog

राधा लुइँटेल 

फिदिम, चैत १५ गते । श्रीमान्को निधन भएपछि तीन जना छोराछोरीलाई साथ लिएर छाप्रोमा कष्टप्रद जीवन गुजारा चलाइरहेकी फिदिम–५ निवासी कोपिला शिवाको परिवारलाई जिल्लामा क्रियाशील सामाजिक संस्था जनसेवा समाजले घर बनाइदिएको छ। समाजका अध्यक्ष राजेन्द्र अधिकारीको पहलमा कोपिलाका लागि चिटिक्क परेको घर बनाइएको हो।

घर निर्माणका लागि फिदिम नगरपालिकाको कार्यालयले जस्तापाता र काँटीसहित हार्डवेयरका सामग्री उपलब्ध गराएको थियो। यसैगरी फिदिम–५ को वडा कार्यालयले काठपात र ढुङ्गा तथा नेपाली सेनाको फिदिमस्थित रणशेर गणले जनशक्ति उपलब्ध गराएको थियो। ६४ जनाको श्रम सहयोगमा घर निर्माण भएको हो। ढुङ्गामाटो काठ र जस्तापाता प्रयोग गरिएको एक तले घरमा दुईवटा कोठा छन्। 

श्रीमान् लक्ष्मण शिवाको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएपछि कोपिला तीन जना नाबालक छोराछोरीसँग जीर्ण बनेको छाप्रोमा बस्दै आउनुभएको थियो। उहाँका सात र छ वर्षीया छोरीसँगै २१ महिनाका एक जना छोरा छन्। 

आर्थिक अवस्थाका कारण जीर्ण घरमा बस्दै आएका महिला र बालबालिकाको अवस्था देखेर घर निर्माणका लागि पहल गरेको जनसेवा समाजका अध्यक्ष अधिकारीले बताउनुभयो।