• १३ असोज २०८१, आइतबार

आठ जना प्रदर्शनकारी र ६ जना प्रहरी गम्भीर घाइते

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

blog

विराटनगरमा मंगलबार दिउँसो भएको झडपलाई नियन्त्रण लिने प्रयास गर्दै सुरक्षाकर्मी । तस्बिर : सचित पोख्रेल

सचिन पोख्रेल

बिराटनगर, चैत १४ गते। कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा मंगलबार भएको झडपको क्रममा एक दर्जन बढी सुरक्षाकर्मीसहित तीन दर्जन प्रदर्शनकारी घाइते भएका छन्। झडपको क्रममा नेपाल प्रहरीतर्फ १४ जना  जना घाइते भएका छन्। घाइतेमध्ये आठ जना प्रदर्शनकारी र ६ जना प्रहरी गम्भीर घाइते भएका छन्। 

विराटनगरको बिग होटलमा कोसी प्रदेशका प्रदेश सभा सदस्यसमेतको सहभागितामा आयोजना भएको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम स्थल घेराउ गर्न आएका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने क्रममा झडप भएको थियो।

 झडपमा  मोरङ ग्रामथानका  सुरज राई, धरान १२ का अशोक राई धरानका  २२ वर्ष उदय लिम्बू इटहरी ५ का पदम केरुङ धरान १६ का  शिव आङदेम्बे  धरानकै  ज्ञानप्रकाश राई, धरान ५ का एक के दर्नाल धरान ५ का  विशाल राई घाइते भएका छन्।  उनीहरूको पारस अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ। 

आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र २९ राउन्ड हवाई फायर गरेको छ। यस्तै ४४ राउन्ड  अश्रुग्यास प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो। 

मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयसमेत रहेको विराटनगरको रोडशेष चौक आसपासमा पहिचानवादी समूहको तर्फबाट प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको प्रहरीको भनाइ छ। 

आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहारसँगै हवाई फायर गरिएको हो।

दोहोरो झडपका कारण रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ। स्थितिलाई पूर्ण रुपले नियन्त्रणमा लिन रोडशेष चौक तथा आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

गत फागुन १७ गते प्रदेश सभाले प्रदेशको कोशी प्रदेश नामाकरण गरेपछि पहिचानवादी नाम खारेज हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्। यस क्रममा गत चैत ५ गते विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सो झडपको क्रममा एकजना आन्दोलनकारी पदम लिम्बु लाजेहाङको मृत्यु भएको थियो।

यसै बीच, कोशी प्रदेश नामाङ्कन खारेजी गरी पुनःनामाकरणको माग सहित आन्दोलनरत पक्षले सङ्घीय सरकारद्वारा पदम लिम्बु लाजेहाङ मृत्युको छानबिन गर्न गठित समिति एक पक्षीय भएकाले असहमति जनाएको छ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले एक प्रेस विज्ञप्ति मार्फत असहमति जनाउँदै स्वतन्त्र व्यक्तिहरू सहभागी गराई सर्वोच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति पुनर्गठन गर्न माग गरेको हो। 

गएको चैत्र ५ गते विराटनगरमा भएको विरोध जनप्रदर्शनमा सुरक्षाकर्मीको कुटाइबाट घाइते भएका  पदम लिम्बु लाजेहाङको उपचारको क्रममा चैत्र १० गते मृत्यु भएको थियो। चैत ११ गते गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको छ। 

नेपाल सरकारको तर्फबाट सहसचिव स्तरको छानबिन समिति गठन भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्तिपूर्ण आन्दोलनमाथि भएको दमन र दोषीउपर छानबिन गर्न गठित समिति एकतर्फी भएकाले उक्त छानबिन समितिप्रति असहमति जनाइएको समितिले जनाएको छ। 

प्रेस विज्ञप्तिमार्फत असहमति जनाउँदै समितिले स्वतन्त्र व्यक्ति सहभागी गराई सर्वोच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति पुनर्गठन गर्न माग गरेको छ।