• २१ वैशाख २०८२, आइतबार

मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

blog

गठबन्धनकाे बैठक । फाइल तस्बिर

काठमाडौं, चैत १२ गते। सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो । 

महासचिव गुरुङले भन्नुभयो, “यो नेताहरुबीच छलफल गरेर टुङ्ग्याउने कुरा भयो ।” सत्ता गठबन्धनमा सहभागी दलले मन्त्रालयमा आ–आफ्नै दाबी गरेको सन्दर्भमा उहाँले भन्नुभयो, “माग त भइरहन्छ तर, मिटिङ पोइन्ट खोज्ने अर्को कुरा भयो ।”

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले साँझको गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड, बारा– २ को उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताउनुभयो ।

नेता झाले भन्नुभयो, “उपनिर्वाचनमा भाग लिने तयारी गरौँ भन्ने नै छ । जसअनुसार आज निर्वाचन आयोगमा दल दर्ता पनि गर्‍यौँ । दोस्रो कुरा, गठबन्धनभित्र छलफल चलाउने कुरा हो । आज पनि गठबन्धनको बैठक छ ।”

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । 

सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत  सहभागी छन् ।