• १४ जेठ २०८१, सोमबार

लामाको नेतृत्वमा कराते महासङ्घ

blog

नेपाल कराते महासंघका नवनिर्वाचित पदाधिकारी सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : राखेप

काठमाडौं, चैत १२ गते । नेपाल कराते महासङ्घको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा आइतबार भएको महाधिवेशनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव एवम् करातेका संस्थापक मध्येका एक लामालाई पुनः करातेको नेतृत्वमा निर्वाचित गरेको हो ।

महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । राखेपले गत माघ १२ गते ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराई साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ, तदर्थ समिति गठन गरेको थियो । 

लामा अघिको तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासङ्घको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको चार वर्षसम्म उक्त समितिले महासङ्घको विधान संशोधन तथा निर्वाचन समेत गर्न नसकेपछि राखेपले करातेका पूर्व खेलाडी लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको हो ।

त्यसबेला लामाले अध्यक्षको पत्र ग्रहण गरेपछि राखेपले दिएको समय सीमा भित्रै विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा रहनुभएको छ । दावा गुरुङले महासचिव, ध्वजमान मोक्तान र बलराम मित्रले सचिव तथा किशोरप्रसाद भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएको छ । 

रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन हुनुभएको छ । 

महासङ्घको आइतबारै बसेको बैठकले दुई सदस्य र पाँच सल्लाहकार मनोनयन गरेको छ । कमला राना र सञ्जयकुमार राई सदस्यमा मनोनीत हुनुभएको छ । 

दीपेश शाक्य, विष्णु कार्की, निवासगोपाल वैद्य, हरि विष्ट र गणेश कार्कीलाई सल्लाहकारमा चयन गरिएको राखेपअन्तर्गत कानुन शाखाका प्रमुख एवम् निर्वाचन अधिकृत नारायणराज अर्यालले जानकारी दिनुभयो । 

नवनिर्वाचित पदाधिकारीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

साधारण सभामा केन्द्रीय कार्यसमिति, सात प्रदेश तथा सितोरियो, वादोरियो, सोतोकान र गोजुरियाका गरी ६७ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन प्रमुख अर्यालले जानकारी दिनुभयो ।