काठमाडौँ, पुस ७ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपीएल) मा भाग लिन आज बङ्गलादेश जानुहुँदैछ ।
सन्दीपले बिपीएलमा राजशाही वारियर्स टोलीबाट प्रतिस्पर्धा गर्नुहुनेछ । सन्दीपलाई एक साताअघि मात्र राजशाहीले अनुबन्ध गरेको थियो ।
सन्दीपले यसअघि पनि सन् २०१८/१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेल्नुभएको थियो । उहाँले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिनुभएको थियो ।
नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिनुभएको छ । उहाँले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।
विराटनगरका कप्तानसमेत रहनुभएका सन्दीप एनपिएलमा १७ विकेट लिँदै सर्वाधिक विकेट कर्ताको पुरस्कार पाउनुभयो । विराटनगर दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।